logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

चन्द्रमाको फरक रङ खगोल ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना


  • रासस
  • बुधबार, चैत्र २६ २०७६

मंगलबार राति आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ।

शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरूको भनाइ छ। गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका फलित ज्योतिष विषयका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेयले भने, ‘यो राम्रो योग होइन, अहिले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी फैलिएको छ, यस्तो योग दुर्लभप्रायः हुन्छ।’

वेदका छ अङ्गमध्येको एक ज्योतिषको सूक्ष्म अध्ययन अनुसन्धान गर्ने हो भने त्यसले भविष्यका घटनाको पहिले नै थाहा पाउन सकिन्छ तर पछिल्लो समय नेपालमा यसको अध्ययन अनुसन्धान केवल औपचारिकतामा मात्र सीमित छ। सूक्ष्म रूपमा हुननसकेको यसको अध्येताको स्वीकारोक्ति छ।

ज्योतिषविद् डा खिलानाथ बस्ताकोटी शनि, वृहस्पति र मङ्गल एकै राशिमा हुने योग भएका बेला विगतमा विश्वव्यापी रूपमा ठूला घटना भएको बताउँछन्।

रणबहादुर शाह राजा भएका बेला पनि यस्तै योगका बेलामा विश्वव्यापीरूपमा बिफर रोगको महामारी फैलिएको थियो।

चन्द्रमामा मङ्गलबार देखिएको दृश्य भने वायु प्रदूषण नभई स्वच्छताका कारण पनि देखिएको हुनसक्ने भएकाले यस विषयमा दूरबीनलगायत यन्त्रका आधारमा अध्ययन गरेर मात्र निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ।

वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिषका सहप्राध्यापक जयन्त आचार्य चैत्र शुक्ल पूर्णिमामा चन्द्रमा अन्य पूर्णिमामा भन्दा नजिक देखिने र वायुमण्डलसमेत स्वच्छ भएकाले मङ्गलबार राति आकाशमा फरक दृश्य देखिएको बताउँछन्।

प्रत्येक महिनाको पूर्णिमाका दिन राति आकाशमा पूर्ण चन्द्र देखिन्छ। आज बिहान ८:५२ सम्म पूर्णिमा तिथि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। पूर्णिमा व्रत मङ्गलबार र हनुमान जयन्ती पूर्णिमामा सूर्योदय भएका दिन मनाइने भएकाले आज मनाइने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

तस्विर दुर्गा प्रसाद पौडेलको फेसबुकबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार