logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउनलाई ‘ब्रेकडाउन’ गर्ने बारे सोचौं


  • बलाराम तिमिल्सिना
  • बिहिबार, चैत्र २७ २०७६

दिल्ली लगायत भारतका ठूला सहरहरूबाट हप्तौंको पैदल यात्रा भोकै तिर्खै मर्दै वाँच्दै आफ्नो गाउँतिर हिडिरहेका ज्यालादारी मजदूरहरूका करोडौं करोडको संख्याले के कुरा प्रस्टसँग बतायो भने– आपत विपतको समयमा मजदू बर्गको लागि काम लाग्ने कुनै सरकार छैन। दिल्लीमा केजरीवालले दैनिक चार लाख मानिसहरूलाई खाने कुराको ब्यबस्था गरेको भन्ने कुराले पनि मजदूरहरूलाई छोएन। बाटा बाटामा भातको सट्टा भेटिने प्रहरीको लाठीले पनि रोकेन। उनीहरूको लागि लकडाउन एउटा निर्मम नाटक मात्रै सावित भयो ।

लकडाउन त तिनीहरूलाई फाप्ने कुरा रहेछ – जसको घरभित्र पर्याप्त खाद्यान्न छ। या जो जहाँ छ त्यही बस्ने कुरा त हरेक मान्छे आफ्नो घरमा हुदा मात्र संभव रहेछ। घर मात्रै भएर पुगेन, भोक मेटाउने कुरा पनि चाहियो। दैनिक मजदूरी गरेर खाने मजदूर एक दिन बन्द हुदा त एक रात भोकै हुन्छ भने- महिनौंको बन्दाबन्दीमा कसरी खाला भनेर सोच्ने दुख नै नगरी महाजनहरूको सरकारले बडो पुरुषार्थ संझेर लकडाउँन गरिदियो।

विपत्तीको वेलामा मरे पनि आफ्ना जहान परिवारसँगै मर्ने भनेर हिडेका भोका नाङ्गाहरूको ताँती हेर्दा यस्तो लाग्थ्यो – कुनै युध्दको चपेटामा परेर देश छोडेर भागेका शरणार्थीहरू वाँच्न कुनै अपरिचित भूगोलतिर भाग्दै छन !

मजदूर वर्गको यो अकल्पनीय दुर्दशाको वारेमा शासकहरूले थाहै पाएनन् भन्ने होइन । उनीहरूले मजाले थाहा पाए । तर महाजनहरूको आत्मालाई मजदूरहरूको जीवन मरणको छटपटी एउटा मेला या महोत्सवझैं लाग्यो सायद । उनीहरू ताली बजाउने, थाली बजाउने र दियो जलाउँने फरमान जारी गरेर गरीवहरूको आलो घाऊमा नून-खोर्सानी छर्किरहे। धनीहरूको दिल संभवत: सवैभन्दा निकृष्ट, क्रुर र आततायी दिल हुन्छ भन्ने कुरा यसले प्रमाणित गरेर देखाइदियो ।

यता नेपालमा पनि रोजगारीबाट बिस्थापित भएर देश फर्केका नेपाली मजदूरहरू आफ्नो देशको सीमानामा आफ्नै देशका सूरक्षाकर्मीहरूबाट छेकिएको, दश पन्ध्र किलोमिटर भित्र छिरीसकेकाहरूलाई पनि लखेट्दै लखेट्दै सीमा कटाएर छोडेको र कैयन दिनदेखि खुला आकासमुनि उनीहरू भोकै तिर्खै बसेको जस्ता खवरहरू आइरहे। महाकाली नदी पारि छेकिएका नेपालीहरूले हरेक अनुनय विनय गर्दा पनि देश छिर्न नपाएको तथा पौडि खेलेर वारि आएकालाई पनि सामान्य पेन्टीको भरमा प्रहरीले नियन्त्रणमा लिएर हिडाएको तस्विरले भाउन्न छुटायो।

त्यस्तै काठमाण्डौ उपत्यकाबाट सयौंको संख्यामा मजदूरहरू भोकै तिर्खै पैदल हिडेर हप्तौं लगाएर मधेश झरेको खवरले पनि देशको कथा भनिरह्यो।काठमाण्डौ महानगरपालिकाका मेयरले राहत दिने भनेको काठमाण्डौमा घर भएका स्थायी बासिन्दालाई मात्र हो , डेरावालहरूलाई होइन भनेको कुराले विपन्न अवस्थाका डेरावालहरूलाई भयभित बनायो।

लक डाउन आफैमा खराव नहोला ।तर लकडाउनको समयमा हरेक नागरिकले कसरी खाने भन्ने निम्नतम व्यवस्थापन नगरी अरु देशको सिको गरेर लकडाउनको उर्दी जारी गर्दा त्यसबाट दैनिक ज्यालादारी गरेर खाने मजदूर, निम्न वेतन भएका कर्मचारी, विद्यार्थी, साना व्यवसायी , ससाना पसलेहरू यातायात मजदूर लगायलाई भोलिपल्टैबाट समस्या पैदा भएको छ। त्यसैले लकडाउनलाई योभन्दा भिन्न ढङ्गले लागू गर्ने, जाँचलाई आम बनाउँने, राहतलाई प्रभावकारी बनाउँने लगायत काम गर्नु पर्ने देखिन्छ।

घरमा दुई चार बोरा चामल, तीन चार वटा ग्याँसका सिलिण्डर र घर खर्चको राम्रै जोहो भएको मध्यम बर्ग अहिले लकडाउनको उग्र समर्थक भएको छ। उसलाई मजदूरहरूको दैनिक हातमुख जोड्ने दुखको गहिराही थाहा छैन या थाहा भएर पनि ऊ मुन्टो बटार्न चाहन्छ । तर लकडाउन अझ तन्कियो र आर्थिक गतिविधी ठप्प भयो भने आज ज्यालादारी मजदूरलाई लिन आएको बिपत्तिले दोश्रो सिफ्टमा निम्न आए वाला समुदाय, तेश्रोमा निम्न मध्यम बर्ग र चौथो लपेटामा मध्यम बर्गलाई पनि सिकार बनाउँछ ।

आज सबैभन्दा गरीवहरूलाई आपत पर्दा हाम्रो त घरमा चामल छ , ग्याँस पनि छ भनेर झ्यालबाट बाहिर पनि नहेरी लकडाउनको गीत गाएर बस्नेहरूलाई एक दिन डाको छोडेर रुने बनाउँछ।

हामीले के बुझ्नु पर्छ भने- प्राय सरकारले बनाउने नीति र गर्ने घोषणाहरू उच्च बर्गलाई सहज हुने खाले हुन्छन। किन कि सरकार चलाउँनेहरू तथा स्थायी सरकारका नीति निर्माणको तहमा रहनेहरू कूलीन बर्गका हुन्छन। बर्गीय चरित्रकै कारणले उनीहरूले प्राय आफ्नै वारेमा सोच्छन र गरीवहरूको दुखको अनुभूति गर्ने खाले उनीहरूसँग आत्मा नै हुदैन। उनीहरू लकडाउन गर्न जान्दछन।किन कि त्यसो गर्दा पुलिस खटाए हुन्छ। पूलिस खटाउने भनेको तातो घाममा गरिवकै छोरालाई जोत्ने हो । खटाउनेहरू एसीवाला कोठामा बस्छन।खट्नेहरू घाम पानी, भोक तिर्खा र संक्रमणको उच्च जोखिममा हुन्छन।

अझ झोक चल्ने कुरा के छ भने सरकार तिनै प्रहरी र स्वास्थ्यकर्मीको तलव काट्ने निर्णय गर्छ।तर आफ्नो सुको घटाउदैन। यस्तो त्रासदीको समयमा पनि सेटिङ मिलाएर भ्रष्टारचार गर्न छोड्दैन।

अहिले सम्म त मध्यम बर्ग- आज फलानो थोक बनाएर खाइयो, भोलि फलानो थोक खाने योजना छ भनेर भोकै भोकै सडकमा घर हिडिरहेका आफ्नै देशका नागरिकहरूको दुखमाथि खितखिताएर हाँसीरहेको छ। अहिले सम्म त लाइभ प्रोग्रामको शानदार चरण नै छ। अहिले सम्म त चन्दमुखी मुस्कान सहितको स्टोरी अपडेट र थरि थरिका नखरा सहितको टिकटक चल्दै छ। तर कोरोनाले झोक चलायो र लकडाउन रबरजस्तै तन्कियो भने यी कथाहरू बदलिने छन। अर्कै अवसादको चरण आइपुग्न सक्छ। त्यो चरणमा पनि अबसादग्रस्त नहोइयोस भन्नाका खातिर समाजसँग दुरी बनाएर बडो स्वार्थी र एकलकाँटे बनेर गौरवपूर्ण एकान्तबासमा बस्ने मात्र होइन बरु भिन्न ढङ्गले समाजसँग अनोन्याश्रित संबन्धमा रहने र लकडाउनलाई ब्रेकडाउन गर्ने उपाएको बारेमा सोचौं !

कोरोनापछिको विश्व – अझ भद्रगोल हुने देखिन्छ। गरिवी, बेरोजगारी, भोकमरी आदि अझ बढ्ने देखिन्छ। बेरोजगारीको चाप देशमा ह्वात्तै बढ्ने देखिन्छ। विश्वव्यापी आर्थिक मन्दी बढ्ने र त्यसबाट बच्न विश्वभरीका पूँजीपतिले मजदूरहरूको अझ निर्मम शोषण गर्ने देखिन्छ। कोरोनाको सुरुवातबाटै सुरु भएको चीन-अमरेकी नयाँ द्वन्द अझ उत्कर्षमा पुग्ने देखिन्छ।
संभवत अमेरिका कमजोर हुने र पुन शक्तिशाली बन्न उसले विभिन्न क्षेत्रमा युध्द थोपर्ने देखिन्छ।

साथै कोरोना प्रकरणमा हायलकायल भएर असफल भएको पूँजीवादी प्रणालीका विरुध्द नयाँ विश्व प्रणालीको वहस पनि मुखरित बनेर आउने देखिन्छ।
सतर्क रहौं ! भयभित नहोऔं ! एक्ला एक्लै बसे पनि समाजको र भविष्यको चिन्ता गर्न नछोडौं !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार