राजनीति
कोरोना भाइरसको महामारी विकसित देशका लागि समेत ऐतिहासिक चुनौतीको रुपमा खडा भइरहेका बेला नेपालमा भने संक्रमण तीव्र रुपमा फैलिन पाएको छैन । हालसम्म ९ जना संक्रमित भएको पुष्टि भएको छ । तीमध्ये एकजनाको उपचार भइसकेको छ । अन्य ८ जनाको उपचार भइरहेको छ ।
सरकारी तथ्यांक अनुसार बिहीबारसम्म १ सय ३४ जनालाई आइसोलेसनमा राखिएको छ । त्यसो त, नेपाल सरकारले एकजना संक्रमित देखिएपछि नै लकडाउन सुरु गरेको थियो । पछिल्लो समय पश्चिम नेपालका भूभाग कोरोना संक्रमणको हिसावले जोखिममा रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
तर तीव्र फैलावट भएको छैन । नेपालमा किन संक्रमणका घटना तीव्र फैलन पाएनन् भन्नेबारे बिबिसी नेपालीले विस्तृत रिपोर्ट तयार पारेको छ । जहाँ पाँच कारण हुनसक्ने भन्दै बिबिसीको रिपोर्टमा औंल्याइएको छ । बिबिसीले केही विज्ञ तथा चिकित्सकलाई उद्धृत गर्दै परीक्षण नै कम भएकाले संक्रमित संख्या पनि कम देखिएको हुनसक्ने निष्कर्ष निकालेको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबारसम्म जम्मा २ हजार ३ सय ६६ वटा नमुना परीक्षण मात्रै गरेको जनाएको छ । जसमध्ये २ हजार ३ सय ५७ जनामा संक्रमण भेटिएन । साथै परीक्षण पनि काठमाडौं केन्द्रित छ । यसवाहेक उपकरण, किट उपलब्ध नहुनुलाई पनि कारणको रुपमा देखाइएको छ ।
नेपालीको जीवनशैलीका कारण पनि संक्रमण तीव्र रुपमा नफैलिएको बताइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुनले नेपाली जीवनशैलीको प्रभावले कोरोना भाइरस फैलनसक्ने सञ्जाल भत्किएको हुनसक्ने बताएका छन् ।
नेपालीको पानीको अत्याधिक प्रयोग गर्ने र धेरै पकाएर खाने बानीले पनि संक्रमण फैलनबाट रोकिएको हुनसक्ने उनको तर्क छ । रिपोर्टका अनुसार प्रतिरक्षा प्रणाली बलियो हुनु, क्षयरोग विरुद्ध दिइने बिसीजी खोपको प्रभाव र भाइरस फैलाउने पूर्वाधार नहुनुले गर्दा संक्रमण तीव्र रुमपा फैलन नपाएको हो ।
विज्ञहरुले नेपालमा संक्रमण फैलनसक्ने संरचना पनि अन्य देशको तुलनामा कम भएको तर्क गरेका छन् । खासगरी सहरी पूर्वाधार तथा धेरै भीडभाड हुने ठाउँ नभएकाले पनि संक्रमण फैलन नसक्ने चिकित्सकहरुले जनाएका हुन् । कतिपय विकसिम देशमा रेलवे, बस स्टेशन, स्कुल, कलेज लगायत संक्रमण फैलने सम्भावित क्षेत्र लकडाउन घोषणा विना नै बन्द गरिएको छ ।
१. परीक्षण नै नहुनु
कतिपय चिकित्सकहरूले नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताएका छन्।
उनीहरूका भनाइमा जति परीक्षण भएको छ त्यसको आधारमा नेपालमा कोरोनाभाइरस धेरै फैलिएको छैन भन्न सकिँदैन।
२.नेपालीको जीवनशैली
कतिपय चिकित्सकहरूले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुन सक्ने तर्क गरेका छन्।
तर उनीहरूकै भनाइमा यसबारे विस्तृत अध्ययन नभई ठोकुवा गर्न भने सकिँदैन।
३. नेपालीको प्रतिरक्षा प्रणाली ‘बलियो’हुनु
विज्ञहरू नेपालीहरूमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरस सङ्क्रमण कम भएको हुन सक्ने बताउँछन्।
४. बीसीजी खोपको प्रभाव
क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ।
कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ।
५. भाइरस फैलाउने पूर्वाधार नै कम हुनु
विशेषगरी कम विकसित देशमा कोरोनाभाइरसको सङ्क्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन सहयोग गर्ने खालका सहरी पूर्वाधारकै कमी हुन सक्ने पनि चिकित्सकहरूको तर्क छ।