logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जिन्दगीको वकपत्र !


  • बलाराम तिमिल्सिना
  • शुक्रबार, चैत्र २८ २०७६

 

म तिमीले सोचे जति बहादुर पनि छैन
र कसैले सोचे जति कायर पनि छैन
बहादुरीभित्र कायरता र कायरताभित्र बहादुरी
दुवै पनको एकीकृत रुप हुँ म !

म तिमीले सोचे जति असल पनि छैन
र कसैले सोचे जति खराव पनि छैन
केही असल पन र केही खराबी
दुवै लक्षण ममा भेट्ने छौ तिमी !

म तिमीले सोचेजति विश्वसनीय पनि छैन
र कसैले सोचे जति धोकेबाज पनि छैन
केही विश्वसनीयता र केही धोकेबाजका
दुवै चरित्र मिसिएको छ ममा !

म तिमीले सोचे जति उदात्त पनि छैन
र कसैले सोचे जति स्वार्थी पनि छैन
उदात्तता र स्वार्थ दुवै कुरा
मभित्र लाप्पा खेलिरहन्छन् हरपल !

म तिमीले सोचे जति वुध्दिमान पनि छैन
र कसैले सोचे जति बज्रस्वाँठ पनि छैन
कैले वुध्दिमानझैं र कैले बज्रस्वाँठझैं
तिमीले मभित्र दुवै कुरा भेट्टाउँने छौ

म तिमीले सोचे जति सुन्दर पनि छैन
र अरुले सोचे जति कुरुप पनि छैन
कहिले सुन्दर र कैले कुरुप बन्ने
दुवै संभावनाहरू विद्यमान छन् मभित्र !

मसँग जति छन्,
साहस,असलपन र विश्वसनीयता
उदात्तता , ज्ञान र सुन्दरता
ठूलो सङ्घर्षले प्राप्त गरेको हुँ मैले

अनि, कायरता र धोकेबाज
स्वार्थ, मूर्खता र कुरुपता
कचेरा र कानेगुजीजस्तै
चाया पोतो र डण्डीफोरजस्तै
सित्तैमा थपिन आएका हुन् ममा !

म जति सफा गर्छु कचेरा र कानेगुजी
जति हटाउँछु चाया पोतो
र जति फुटाउँछु डण्डीफोर
ती घट्छन् तर निर्मुल हुदैनन्
ती पनि हुन सायद,
मान्छे हुनुका अनिवार्य शर्तहरू !

२०७६|१२|२८
भक्तपुर

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार