logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउनमा कस्काे सेटिङ्गमा आए दर्जनौं ट्रक भक्तपुर ? स्थानीय त्रसित


  • राजनीति
  • शनिबार, चैत्र २९ २०७६

सरकारले लकडाउन गरेको समय अत्यावश्यक वस्तुमात्र ढुवानी गर्न पाउने व्यवस्था छ । तर, सवारीको अगाडी खाद्यन्न र आल्मुनियम सल्फेट ढुवानीको पत्र टाँसेका ट्रक ईटा भट्टामा प्रयोग हुने कोइला बोकेर भक्तपुर आइपुेका छन् । ईटा भट्टामा प्रयोग हुने कोइला बोकेका एक दर्जन भन्दा धेरै ट्रक भक्तपुरका विभिन्न स्थानमा पुगेपछि स्थानीयवासीहरु त्रसित भएका छन् ।

महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार ती ट्रकहरु पर्सा जिल्लाको वीरगञ्जबाट हेटौडा हुँदै भक्तपुर आइपुगेका हुन् । केहीलाई प्रहरीले भक्तपुर प्रवेश गर्ने नाकामा रोकेको छ । प्रहरीको दर्जनौं सुरक्षा घेरा पार गर्दै खाद्यान्न र आल्मुनियम सल्फेट ढुवानीको पत्र टाँसेका ट्रक भक्तपुर पुग्नु रहस्यमय देखिन्छ ।

शनिबार बिहान चाँगुनारायण नगरपालिकाको ८ र ९ वडामा कोइला बोकेका ट्रक आएपछि स्थानीयहरुले विरोध गरेका छन् । स्थानीयको विरोधपछि चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक सविन श्रेष्ठ सुडाल पुगेका थिए ।

विश्वभर कोरोना भाईरसको जोखिम बढ्दै गएको समयमा ईटा व्यवसायीले भने खाद्यान्न र औषधीजन्य उद्योगलाई अत्यावश्यक भन्दै कोइला ल्याएका छन् । उनीहरुले सरकारले तोकेको न्यूनतम स्वास्थ्य मापदण्ड समेत पुरा गरेको देखिदैंन ।

‘माथिदेखिको सेटिङ्गमा कोइला भक्तपुर आयो’

यसबारेमा प्रतिक्रिया लिँदा नगरप्रमुख मिश्रले माथिल्लो तहदेखिको सेटिङ्गमा वीरगञ्बाट कोइला बोकेका ट्रक चाँगुनारायण आएका बताए । सरकारको उच्च स्तरीय समितिको निर्णयमा नै त्रुटि भएको र ईँटा उद्योगलाई अत्यावश्यक भन्ने बनाइएकोमा नगर प्रमुख मिश्रले असन्तुष्टि व्यक्त गरे ।

‘मैले गृह मन्त्रालयका सचिव ज्यूसँग समेत गुनासो राखेको छु, गल्तीले उच्च स्तरीय समितिको बैठकमा ईटा उद्योग चलाउन दिने निर्णय घुसाइएको रहेछ’ नगरप्रमुख मिश्रले भने ।

इँटा उद्योग वरिपरि मजदुरको भीडः स्वास्थ्य मापदण्ड लागू भएन

भक्तपुरका अधिकाँश र्इँटाभट्टा वरपर सयौंको संख्यामा मजदुरहरु भेला भएर काम गर्ने गरेका छन् । काँचो इँटा बनाउनेलाई घर पठाइएपनि पोल्ने काम गर्ने बोक्ने मजदुर भने भट्टामा नै देखिन्छ । तर, उद्योगीहरुले न्युनतम स्वास्थ्य मापदण्ड पुरा गरेका छैनन् ।

न त मजदुरलाई मास्क, न हात धुने साबुन र पानी । अर्को तर्फ सेनेटाइजरको समेत व्यवस्थापन गरेको देखिदैंन् । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको दोस्रो चरण भनेकाले त्यसतर्फ सम्बन्धीत सबैले सचेतना देखाउनु पर्ने भएपनि त्यो पुरा भएको देखिदैन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार