राजनीति
कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष गुड्डु भनिने रविन्द्र शाहीलाई पक्राउ गर्न जिल्ला अदालत कञ्चनपुरले प्रहरीलाई अनुमति दिएको छ।
शाहीविरुद्ध प्रहरीले अदालतमा हातहतियार खरखजना ओसारपसारको मुद्दा दर्ता गरेपछि पक्राउका लागि अनुमति पाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शाहीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।
चैत २५ मा डिएल ३ सिसिआर ३९९७ नम्बरको भारतीय गाडीमा वडाध्यक्ष शाहीको पहिचान खुल्ने एटिम कार्ड र नगद रकमसहित दुई थान हतियार सशस्त्र प्रहरीले बरामद गरेको थियो।
कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको उक्त गाडीबाट प्वान्ट टुटु–एलआर थान–१ को बन्दुक, त्यसमा प्रयोग हुने १४ थान गोली, एक थान एयरगन र त्यसमा प्रयोग हुने १९६ थान छर्रा, नगद रकम ८६ हजार रुपैयाँ र छ वटा बैंकका एटिएम कार्ड बरामद गरेको थियो।