राजनीति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्मका लागि लकडाउन लम्ब्याएको घोषणा गरेलगत्तै मुम्बइका आप्रबासी कामदारहरु आन्दोलित बनेका छन् । हजारौँ कामदारहरु मोदीको भाषण सकिनासाथै सडकमा निस्किएर प्रदर्शन गरेका हुन् ।
३० मिनेटभित्रै कम्तिमा ३ हजार भन्दा धेरै कामदारहरु मुम्बइको बान्द्रा सडकमा उत्रिएको भारतीय मिडियाले जनाएका छन् । अबको एक सातासम्म मात्रै लकडाउन लम्ब्याउने अपेक्षा गरिएकोमा मे ३ गतेसम्म लकडाउन थपिदिएपछि उनीहरु आन्दोलित बनेको बताउँछन् ।
ठूलो संख्यामा उत्तर तथा पूर्वी भारतका मजदुरहरु मुम्बइमा रहँदैआएका थिए । तर लकडाउन घोषणासँगै घर फर्कन नपाएर उनीहरु मुम्बइमै थुनिएका छन् । तर मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले भाषणको क्रममा मजदुरको राहतका लागि कुनै प्याकेज नल्याएपछि उनीहरु सडकमा उत्रिएका थिए ।
प्रहरीले केही बेरमै धरपकड गरेको थियो । उनीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ । कतिपय मजदुरहरु भने कामको ज्याला समेत नपाएको गुनासो गरेका छन् । ज्याला र घर फर्कन नपाउँदा आफूहरु भोकै रहनु परेको उनीहरुको गुनासो छ । यसअघि गुजरातको सुरत सहरमा पनि ठूलो संख्यामा आप्रबासी कामदारहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । कामको ज्याला वा घर फर्कन पाउनुपर्ने उनीहरुको माग थियो ।