logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेना जाँच गर्न खतिवडालाई विज्ञकाे सुझाव


  • राजनीति
  • बिहिबार, बैशाख ४ २०७७

अर्थमन्त्री युवराज खतिवडाले आफूलाई कोरोना भाइरसको संक्रमण भए/नभएको परीक्षण गर्दा केही नबिग्रने उल्लेख गर्दै विज्ञहरूले स्वास्थ्य जाँच गर्न सुझाव दिएका छन्।
उनीहरू चैत ५ गतेदेखि काठमाडौं, कागेश्वरी मनोहरा-९ स्थित सनसिटी अपार्टमेन्टको फ्ल्याटमा अर्थमन्त्री डा. खतिवडा पुगेको सार्वजनिक भएपछि विज्ञहरूले शंका निवारणका लागि परीक्षण गर्न सुझाएका हुन्।

मन्त्री खतिवडा चैत ११ गते उक्त अपार्टमेन्टमा आयोजित सार्वजनिक कार्यक्रममा उपस्थित भएको प्रत्यक्षदर्शीले दाबी गरेका छन्। अपार्टमेन्टमा भएको वेलफेयर सोसाइटीको निर्वाचनका क्रममा भएको विजयोत्सव कार्यक्रममा मन्त्री डा. खतिवडा सामेल भएको सामाजिक सञ्जालमा चर्चा छ। मन्त्री खतिवडाका छोरा तिलक सोसाइटीमा निर्वाचित भएका थिए। यद्यपि, मन्त्री खतिवडा स्वयंले औपचारिक रूपमा केही बोलेका छैनन्। अपार्टमेन्टमा बस्दै आएका दुई जना व्यक्तिमा कोरोना भाइरस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले मन्त्री खतिवडाले रगत वा स्वाब परीक्षण गर्दा उपयुक्त हुने सुझाव दिए। उनले भने,‘ इपिडेमियोलोजीकल्ली पनि अर्थमन्त्रीज्यूले परीक्षण गर्नु राम्रो हुन्छ।’

बेलायतबाट आई उक्त अपार्टमेन्टमा बसेका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ। उनीहरू गत चैत ५ गते अपार्टमेन्टमा बस्दै आएका छन्। अर्थमन्त्री खतिवडा चैत ११ गते अपार्टमेन्टमा गएको दाबी गरिएको छ। ‘एक महिना पनि भएको छैन। यदि, गएको हो भने त्यो बेला भाइरस सरेको पनि हुन सक्छ। परीक्षण गर्दा के बिग्रन्छ र ? शंका निवारणका लागि पनि जाँच गर्नु उपयुक्त हुन्छ’, डा. प्याकुरेलले भने।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा. वासुदेव पाण्डेले बुधबार आयोजित प्रेस ब्रिफिङमा भने, ‘अपार्टमेन्टमा रहेका दुई सय ९८ जना व्यक्तिको द्रुत परीक्षण (आरडीटी) गरिएको छ। संक्रमितको नजिकमा रहेको व्यक्तिको थ्रोट स्वाब लिन्छौं।’ संक्रमित दुई जनासँगै एउटै कोठामा रहेकी महिलाकी भने स्वाब परीक्षणमा भाइरस नेगेटिभ आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार