राजनीति
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचाररत दुई संक्रमितको अन्तिम पटक परीक्षण हुने भएको छ।
कोभिड-१९ का दुई सङ्क्रमित बिरामीको अन्तिम पटक बिहीबार परीक्षण गर्न लागिएको हो। कोभिड-१९ सङ्क्रमितको दुवैको अवस्था सामान्य रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताले जनाएको छ।
सम्भवत: दुई दिनभित्रमा उपचार गराइरहेका बिरामीलाई डिस्चार्ज गरिने टेकु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालाका निर्देशक सागरराज भण्डारीले थाहाखबरलाई बताए। उनका अनुसार बिहीबार र शुक्रबार अन्तिम पटक पुनःपरीक्षण गरिन्छ। त्यही रिपोर्टको आधारमा बिरामीबारे निर्णय लिइने उनले जानकारी दिए।
अस्पतालमा उपचारको क्रममा रहेका कोभिड संक्रमित दुवैजनाको स्वास्थ्य अवस्था सकरात्मक रहेको भण्डारीले बताए। ‘तत्काल केही पनि समस्या छैन। नेगेटिभ रिपोर्ट देखियोस भन्नका लागि मात्र राखेका हौँ’, उनले भने।
हाल टेकुमा कोभिड-१९ का दुई नेपाली नागरिकको उपचार भइरहेको छ। चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी काठमाडौंकी १९ वर्षीया युवती र दुबईबाट आएका धादिङका युवकको उपचार भइरहेको छ।
नेपालमा हालसम्म १६ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। एकजना उपचार गरेर निको भइसकेका छन्। हाल टेकु अस्पतालमा २, बागलुङको धौलागिरि अस्पतालमा २, पर्साको नारायणी उपक्षेत्रीय ‘कोरोना विशेष’ अस्पतालमा तीन, पाटन अस्पतालमा दुई र सेती अस्पतालमा पाँचजनाको उपचार भइरहेको छ।