logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

हेटाैडामा ४ जनामा काेराेना पाेजेटिभ


  • राजनीति
  • बिहिबार, बैशाख ४ २०७७

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा हेटौंडामा चारजनामा पोजिटिभ रिपोर्ट आएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा चारजनाको पोजिटिभ देखिएको हो ।

हेटौंडा–४ वासुदेव सभागृहमा भएको र्‍यापिड टेस्टमा चारजनाको पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए। बासुदेव सभागृहमा भएको ४० जनाको टेस्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजिटिभ आएको टेस्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईंले बताए।

उनीहरुमध्ये भारत बिहार घर भइ हाल हेटौंडा–४ आफ्न्तमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक रहेका छन्।

उनीहरुलाई पीसीआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ। उक्त स्वाब हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको ल्याबमा परीक्षण हुनेछ। यसैगरी हेटौंडा–१५ मा गरिएको र्‍यापिड टेस्टमा भने सबैको नेगेटिभ पाइएको छ।

र्‍यापिड टेस्टमा पोजिटिभ पाइएकाहरुका परिवार, नियमित सम्पर्क हुनेहरुको पनि स्वाब संकलनका लागि अस्पताल लगिएको छ। आफूलाई पोजिटिभ देखिएकाहरुले पनि परीक्षणमा सहयोग गरेको उपाध्यायले जानकारी दिए।

वाग्मती प्रदेश सरकारको सहयोगमा मकवानपुर जिल्लामा तीनसय किटबाट परीक्षण भइरहेको छ। पहिलो चरणमा विदेशबाट फर्किएका र जिल्लाको विभिन्न स्थानको क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार