logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राहत वितरण गर्न पुगेका जनप्रतिनिधि बिच कुटाकुट, केहि घाइते


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

लकडाउनको कारण पीडामा परेको परिवारलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा स्थानीय तहका जनप्रतिनिधिले कार्यालय तोडफोड गरेका छन् । राहत वितरणको विषयमा विवाद हुँदा धनुषाको धनौजी गाउँपालिका कार्यालय जनप्रतिनिधिले नै तोडफोड गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष बद्री सिंह र वडा नम्बर ३ का अध्यक्ष रामदुलार मण्डल पक्षका व्यक्तिहरूबीच विवाद भएपछि गाउँपालिकाको कार्यालयमा तोडफोड भएको हो । तोडफोडबाट कार्यालयभित्रको पार्टिसनमा क्षति पुग्नुका साथै एक दर्जन प्लाष्टिकका कुर्सी भाँचिएको अध्यक्ष सिंहले जानकारी दिए ।

अध्यक्ष सिंहलाई वडाध्यक्ष पक्षधरले केहीबेर कार्यालयमै थुनेका थिए । घटनालगत्तै सुरक्षाकर्मी पुगेपछि उनीहरुबीचको विवाद साम्य भएको थियो । अध्यक्ष सिंहले वडाध्यक्षसँग चर्काचर्की सुरु गरेपछि झडपको स्थिति सृजना भएकोले आफुहरु बाहिर निस्केको एक कर्मचारीले बताए ।

वडाध्यक्ष मण्डलले राहतका लागि ९ सय २६ जनाको विवरण लिएर आएपछि विवाद सृजना भएको थियो । विवरणमा सर्वदलीय समितिमा रहेका पार्टी प्रतिनिधिको हस्ताक्षर नरहेको अध्यक्ष सिंहको भनाई छ । नाम विवरणमा प्रतिनिधिको हस्ताक्षर नरहेको भन्दै वडाध्यक्षले ल्याएको कागजहरु अध्यक्ष सिंहले फालिदिएपछि झडप भएको थियो ।

यता, वडाध्यक्ष मण्डलले राहत वितरणका लागि विवरण लिएर गाउँपालिका कार्यालयमा पुग्दा अध्यक्ष सिंहले बेवास्ता गरेको र पीडित परिवारको नाम सहितको विवरण फाइल फालेपछि विवाद भएको बताए । गाउँपालिकाका अध्यक्ष सिंह नेपाली काङ्ग्रेसका कार्यकर्ता हुन् भने वडा अध्यक्ष मण्डल नेकपाका कार्यकर्ता हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार