राजनीति
जुम्लामा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालमसम्म मात्रै झन्डै ६ सय महिलाले सुरक्षित गर्भपतन गराएका छन्।
तथ्यांकअनुसार अवैध सम्बन्धले गर्भ रहेपछि सुरक्षित गर्भपतन गर्नेहरूभन्दा अझै असुरक्षित गर्भपतन गर्नेको संख्या धेरै रहेको अनुमान छ।
गर्भपतन गराउनेमा १८ वर्षदेखि युवती बढी रहेको खबर जुम्लाबाट नन्दराम जैसीले आजको अन्नपूर्ण पोस्ट्मा लेखेका छन्। चालू आर्थिक वर्षको हालसम्म एक सय १५ जना महिला, किशोरीले औजारको सहायताले सुरक्षित गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालयकी तथ्यांक सहायक कमला नाथले बताइन्।
‘गत वर्ष सात सय पाँच जनाले गर्भपतन गराएका थिए। यो वर्षको ६ महिनामै त्यसको ५० प्रतिशतले गर्भपतन गराउने संख्या बढेको छ,’उनले भनिन्।
गर्भपतन गराउनेमा अधिकत्तर १८ वर्षदेखि २२ वर्ष उमेर समूहका अविवाहित किशोरी र २३ वर्षदेखि ३० वर्षका महिला रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्सिङ अफिसर मुना दाहालले बताइन्।