logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

तनहुँ आँबुखैरेनी गापाको भिडियो कन्फरेन्समार्फत बैठक


  • रासस
  • शनिबार, बैशाख ६ २०७७

तनहुँ – आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक शुक्रबार विद्युतीय (भिडियो कन्फरेन्स) प्रविधिमार्फत सम्पन्न गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण गाउँपालिकाले जिल्लामै पहिलोपटक कार्यपालिकाको बैठक विद्युतीय प्रविधिमार्फत सम्पन्न गरेको हो ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउन गरिएको अवस्थामा गाउँपालिकाको बैठक बस्नका लागि प्रविधिको प्रयोग गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । बैठकले कोरोना, राहत वितरण र आरडिटी परीक्षणको बारेमा समीक्षा गरेको प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो । गाउँपालिकाअन्तर्गत राहत प्राप्त गरेका नागरिकको बील भर्पाइसमेत संलग्न गरी भुक्तानीका लागि वडाध्यक्षले सिफारिस गर्ने सो बील भर्पाइअनुसारको रकम गाउँपालिकाले कोरोनो रोकथाम तथा नियन्त्रण कोषबाट भुक्तानी उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

सो गाउँपालिकाबाट वितरण गरिएको राहत चामलमा अखाद्य रहेको भनी आँबुखैरेनी गाउँपालिका–३ बस्ने सुरेन्द्रकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा भिडियोसमेत बनाई आवश्यक कारवाही गर्नका लागि आह्वान गरेको हुँदा उक्त चामल तत्कालै जफत गरी गुणस्तर ल्याब टेष्टका लागि पठाइएकामा उक्त चामल गुणस्तरअनुसारको रहेको पाइएकाले ढुक्क भएर उपभोग गर्न सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरिएको छ । गाउँपालिकाबाट वितरण गरिएका तीन परिवार र हिमान्सु टेड्र्रसबाट चामलको नमूना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको थियो ।

त्यस्तै चैत १ गतेदेखि हालसम्म विदेशबाट फर्किएका गाउँपालिकाभित्रका १७ जनाको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको र अन्य कोही छुट भएमा यथाशीघ्र आरडिटी परीक्षण गर्ने निर्णय बैठकले गरेको गाउँपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार