झापा – जिल्लाको अर्जुनधारा नगरपालिका–५ निवासी ज्ञानबहादुर भारतीले ३५ बिघा क्षेत्रफलमा लगाएको उखु समयमा बिक्री गर्न नपाउँदा चिन्तित छन् ।
उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा उखुका बोट (लाक्रा) सुक्न थालेसँगै उनमा चिन्ता थपिएको हो। कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन लम्बिँदै जाँदा आफूले उत्पादन गरेको ग्यामेरा प्रजातिको जुस बनाउने उखु बिक्री गर्न नपाएको भारतीले बताए ।
‘उखु काट्ने समयमा एक महिनासम्म बन्द हुँदा उखुका लाक्रा खेतमै सुके,’ उनले भने, ‘३५ बिघा क्षेत्रफलमा लगाएको उखु काटेर फाल्न पनि अब सक्ने अवस्था रहेन, लकडाउनले मजदुरसमेत पाइँदैन । उखुखेतीबाट झण्डै ४० लाख रुपैयाँ आम्दानी गरौँला भन्ने थियो । अब त आस हराउँदै गयो, अझ दुई चारदिन लकडाउन लम्बिने हो भने उखुबारीमा आगो छाड्दा हुन्छ ।’
उखुखेतीका लागि ३०३५ लाख रुपैयाँ लगानी भएको छ, अब लगानी कसरी उठाउने उनले दुखेसो पोखे ।
लामो समयदेखि व्यावसायिक उखु खेती गर्दै आएका भारती झापामा जुस बनाउने उखु खेती गर्ने पहिलो कृषकका रूपमा चिनिन्छन् । उनले ०४८ अघिदेखि उखु खेती गर्दै आएका हुन् । जुसका लागि उनले उत्पादन गरेको उखु झापाका बजारसहित काठमाडौं, पोखरासम्म पुग्ने गरेको थियो । तर, लामो समयसम्म मुलुक लकडाउन हुँदा उनले समयमा उखु बिक्री गर्न सकेनन् ।
अर्जुनधाराकै कतिपय कृषकले समयमा उखु बिक्री गर्न नसकेर बगानमै आगो लगाएको भारतीको भनाइ छ ।