logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लमजुङ सिउरुङमा अनुमतिबिना प्रवेश गरे पाँच र घरमा बसाए घरधनीलाई ३० हजार जरिवाना


  • रासस
  • शनिबार, बैशाख ६ २०७७

लमजुङ –  जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ पर्यटकीय सिउरुङ गाउँमा अनुमतिबिना गाउँ प्रवेश गरेमा रु पाँच हजार र घरमा बसाए घरधनीलाई रु ३० हजार जरिवाना तोकिएको छ । विश्वमा तीव्र र महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट बचाउनका लागि गाउँका आमा समूह, युवा क्लब स्थानीयवासीलगायतले संयुक्तरूपमा उक्त निर्णय गरेको हो ।

गाउँमा कोरोना सङ्क्रमित व्यक्ति आउन सक्ने र यसको रोकथामका लागि उक्त जरिवाना निर्णय गरिएको सिउरुङ गाउँका आमा समूह अध्यक्ष तोमाया गुरुङले बताए । उनले भने, ‘हाम्रो यहाँ घरवाससमेत सञ्चालन रहेकाले विभिन्न ठाउँबाट गाउँ प्रवेश गर्न सक्ने भएकाले जरिवानाले गाउँ प्रवेशमा रोक हुने अपेक्षा गरेका छौँ ।’ गाउँपालिकाको कार्यापालिका सदस्य एवं सोही वडा सदस्य रहनुभएका स्थानीय ताराकाशी गुरुङले भने, ‘विश्वमा कोरोनाको त्रास बढ्दै जाने क्रममा यहाँ पनि स्थानीयवासीमा जोखिम बढ्यो स्थानीय त्रासमा रहन थालेपछि हामीले यस गाउँ प्रवेश गर्ने चार ठाउँमा काँडेबारसमेत लगाएका छौँ ।’

विसं २०६५ बाट शुरु भएको सिउरुङ घरवासमा हाल १९ वटा घरवास रहेका छन् । सिउरुङ गाउँमा १२० घरधुरी छन् । मनास्लु हिमालको काखमा रहेको उक्त घरवास समुद्री सतहदेखि एक हजार ८५४ मिटरको उचाइमा छ । गाउँकै सामुन्ने ऐना जस्तैगरी देखिने मनास्लु हिमश्रृंखलामा पर्ने हिमालचुली, ङादीचुलीलगायत हिमालले सिउरुङ गाउँको सुन्दरता थपेको छ । सूर्योदय र सूर्यस्तको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । घरवास पुग्ने पर्यटकलाई अग्र्यानिक खाना, लोकल कुखुराको मासु, गाउँमै उत्पादित सागसब्जीलगायतको परिकार खुवाउने गर्दछ । साथै गुरुङ समुदायको सांस्कृतिक कृष्ण चरिण, घाँटु, सोरठीलगायतका नाच हेर्न पाइन्छ । उनीहरुको परम्परागतदेखि चलिआएको रोघीं बस्नेसमेत चलन छ ।

बेंसीशहरबाट पर्यटकका लागि सिउरुङ गाउँ घरवासमा पुग्नलाई २४ किलोमिटर जिपमा पार गर्नपर्छ । पैदलयात्रुका लागि भने करिब एक दिनभरि नै लाग्ने गर्दछ । कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीयवासीले यस घरवासमा यतिबेला पर्यटकलाई रोक लगाएका कारण सुनसान बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार