विश्वव्यापी फैलिरहेको कोरोना असरका कारण सम्पुर्ण नागरिकहरु व्यापक रुपमा प्रभावित भएको अवस्था छ । अझ निम्न वर्गीय समाज त कोरोना र भोकको प्रभाव मध्ये कुन शक्तिशाली भनेर तौलन बाध्य छन् । यिनै कमजोर आर्थिक स्थिती भएका परिवारबाट अध्ययनको सिलसिलामा देशका प्रमुख सहरहरुमा उपस्थित विद्यार्थीहरु झन् भयानक रुपमा थलिएको अवस्था छ ।
दिनभर ज्यालादारी गर्दा समेत बिहान बेलुकी छाक टार्न मुस्किल पर्ने विद्यार्थीहरु ती बन्द कोठामा कसरी दिन बिताउँदै छन् ? यो अवस्थामा ती विद्यार्थीहरुको भोक मेटाउने आधार के हो ? देशका प्रमुख सहरहरुमा अन्य जिल्लाबाट अध्ययनका लागी कति विद्यार्थी सहभागी छन् यसको तथ्यांक सरकारसँग छ ? धनी वर्गका परिवार त सामान्य अवस्थामा समेत महिनौंलाई पुग्ने रासन स्टोर गरिरहेको अवस्था थियो तर निम्न आर्थिक स्थिति भएका परिवारबाट दुर सहरमा गएका विद्यार्थीको समस्या बुझिदिने कसले ? ग्यासको समस्या होला , पकाउने चामल नहोला , तरकारी किन्ने पैसा नहोला यि समस्याहरु ति सरकारमा आसिन मन्त्रीहरु जानकार छैनन् ?
ती विद्यार्थीहरुले आफ्नो समस्या कहाँ सुनाउने ? सुनाउने कसलाई ? सुनाउने माध्यम के हो ? यि यावत् समस्या सरकारले बुझ्नु पर्ने कि नपर्ने ? भावनामा नबहिकिनु भन्ने देशका प्रधानमन्त्री यी समस्याहरुबारे जानकार छन कि छैनन् ? भावनामा नबहकिदा ती समस्याले ग्रस्त विद्यार्थीहरुको हात मुख जोड्ने आधार निर्माण हुन्छ ? सत्ताधारी पार्टीका विद्यार्थी संगठन कता लुकेका छन ? यस्तो अवस्थामा सरकारलाई ध्यानाकर्षण गराउन नसक्ने यी नाम मात्रका विद्यार्थी संगठनहरुको काम के हो ? चेतना रहोस देश सामान्य अवस्थामा फर्किएपछी स्ववियु निर्वाचनको चटारो पर्ने तिमिहरुलाई नै हो, त्यो समय देखाउने छन् विद्यार्थीहरुले आफ्नो विद्रोहको असली रुप ।
विद्यार्थीहरु भविष्यका कर्णधार भन्दै भाषण ठोक्ने नेताहरु यो अवस्थामा उद्धार नगर्ने हो भने निकट भविष्यमा नेताहरुप्रती विद्यार्थीहरु समक्ष कस्तो छाप पर्न जाला ? यिनै पीडित विद्यार्थीहरु एकैपटक विद्रोहमा उत्रिए भने सरकारले थेग्न सक्छ ? यी समस्याहरु हल गर्न यथाशीघ्र सरकारको ध्यान जाओस् । एउटा छुट्टै संयन्त्र गठन गरि अध्यापनका लागी सहर केन्द्रित सम्पुर्ण विद्यार्थीहरुको पहिचान गर्दै राहतको व्यवस्था गरियोस्, नत्र भने हप्तौं देखिको भोको पेट सामु यी रोगहरु गौण हुने अवस्था छ । यसै समस्यालाई मध्यनजर गर्दै उग्ररूपमा देशका हरेक सहरहरुबाट विद्यार्थीहरु राज्यसत्ताको रवैया तहसनहस पार्न उपस्थित हुने छन, जुन अवस्था सुतिरहेको निरिह सत्ताले नियन्त्रण गर्न सक्ने छैन । चेतना रहोस् राज्यसत्ता युवा विद्यार्थीहरुको हातमा छ ।