logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउन र असिनाको ‘आघात’स्ट्रबेरी खेतीमा ,निराश मुद्रामा ठूलीमाया


  • राजनीति
  • मंगलबार, बैशाख ९ २०७७

नुवाकोट – नुवाकोटको ककनी गाउँपालिका–५ की ठूलीमाया तामाङ हरेक साल स्ट्रबेरी खेती गर्छिन्। परम्परागत खेतीभन्दा केही माथि उठेर उनले वार्षिकरूपमा झण्डै रु चार लाख आम्दानी गर्छिन् । यसपटक विश्वव्यापी त्रासका रूपमा फैलिएको कोरोनाको सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले लकडाउन गरेको छ । सोही कारण बारीमा उत्पादित स्ट्रबेरी बजार लैजान पाइएन । बारीमा रहेको स्ट्रबेरी लकडाउन खुलेपछि भने पनि लैजाऔँ भन्ने उनको सोंच थियो । गरिखाने वर्गलाई एकातर्फ विपद्ले अवरोध गरेको थियो नै । त्यसमाथि केही दिनअघि परेको असिनाले स्ट्रबेरी खेती ‘आघात’ भयो ।

लकडाउनले समस्यामा पारेका किसानलाई असिनापानीले दिएको पीडाले सबैभन्दा बढी दुःखी बनाएको छ । वर्षभरि घर व्यवहार चलाउने स्रोत नै माटोमा मिलेपछि ठूलीमायालाई पर्नु पीर परेको छ । झण्डै पाँच हजार स्ट्रबेरीका बिरुवा लगाएकी उनले लकडाउन नभएको भए आगामी जेठसम्म नै स्ट्रबेरीको व्यापार गर्ने सोंच थियो । लकडाउनभन्दा पनि असिनापानी सबैभन्दा ठूलो शत्रु बनेर खडा भइदियो । निराश मुद्रामा स्ट्रबेरीको बारीमा भेटिएकी ठूलीमायाले भनिन्, ‘हामीलाई त कोरोनाले पनि उत्तिकै लखेट्यो, त्यो भन्दा बढी असिना आघात तुल्यायो ।’

पछिल्ला दिनमा स्ट्रबेरी खेतीका लागि ककनी प्रसिद्ध छ । काठमाडौँभन्दा उच्च भू–भागमा रहेको ककनीका अधिकांश किसान स्ट्रबेरी खेतीमा आकर्षित भएका छन् । स्थानीय एक संस्थाले सो खेती गर्ने किसानलाई सहयोग गरेको छ । केहीले टनेलभित्र खेती गरेका छन् भने केहीले खुलारूपमा खेती गरेका छन् । टनेलमा खेती गर्नेको केही नभए पनि खुलारूपमा खेती गर्नेको सबैभन्दा बढी नास भएको छ । अधिकांश किसान वर्षभर कमाइको मेलो खोसिएकोले निरास भएका छन् ।

कान्छीमाया तामाङले पनि सात हजार स्ट्रबेरीको बिरुवा रोपेकी थिइन् । एकातर्फ लकडाउन उनका लागि अभिषापसिद्ध भयो भने अर्कोतर्फ असिनापानीले आघात पारिदियो । छोराछोरी पढाउने, घर खर्च चलाउने र केही पैसा बचत गर्ने उनको दैनिकीलाई प्रकृतिले दिएको पीडा सबैभन्दा बढी दुःखदायी छ । स्थानीय कृषक समूहबाट ऋण लिएर खेती गरेको बताउनुहुने कान्छीमायाले स्ट्रबेरी बेच्न नपाउँदा बारीमै सडेको र असिनापानीले सखाप भएको छ । वर्षभरमा झण्डै रु तीन लाख ५० हजार कमाई गर्ने उनको स्रोत खोसिएको छ ।

सामान्यता कात्तिकदेखि स्ट्रबेरी खानयोग्य हुन्छ । जेठसम्म बारीमा रहन्छ । बजारमा तीन प्रकारमा विभाजन गरेर बिक्री गर्ने किसानले राम्रै आम्दानी गर्दै आएका थिए । राजधानी काठमाडौँका ठूला डिपार्टमेन्टल स्टोरमा राम्रै मूल्यमा बिक्री हुन्छ । मुख्ययाममा प्रतिकिलो रु ६०० सम्म बिक्री गर्ने किसानले राम्रै मुनाफासमेत गरेका थिए । यसपटक ती किसानका लागि लकडाउन र असिनापानी शत्रु बनेर खडा भइदियो ।

ककनी–२ का अगुवा किसान प्रेम तामाङ घरको डिलमा बसेर असिनाले सखाप पारेको स्ट्रबेरीको बारी हेरिरहेका थिए । राससकर्मी उनको घरमा पुग्दा गहभरि आँसु पार्दै उनले भने, ‘प्रकृतिले हामी गरिखानेलाई नै किन यस्तो पीडा दिन्छ सर । हामी त बर्बाद नै भयौँ ।’ उनले १६ रोपनीमा स्ट्रबेरी खेती गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको जिल्ला सदस्यसमेत रहेका प्रेमले गाउँका अन्य किसानलाई समेत नगदे बालीमा आकर्षित गराएका थिए । उनकै पहलमा गाउँमा हातेट्र्याक्टर र टनेलसमेत वितरण गरिएको छ । कूल ३० हाते ट्र्याक्टर वितरण भइसकेको छ । आगामी जेठभित्रै थप ५० वितरण गर्ने योजना छ । यस्तै, १५० टनेल वितरण गरिँदैछ । लकडाउनका कारण ट्र्याक्टर आउन नसक्दा वितरण होला कि नहोला भन्ने त्रास कायमै छ । स्थानीय काउले, ठूलो चित्रे, चित्रेलगायत स्थानमा स्ट्रबेरी खेती हुन्छ । अधिकांश किसानले व्यावसायिकरूपमा नै सो खेती गरेका थिए । वार्षिक रु पाँच लाख कमाउने प्रेमलाई प्रकृति र विपद् दुवैले समस्यामा पारेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले ककनी क्षेत्रलाई स्ट्रबेरीको पकेट क्षेत्रका रूपमा अगाडि बढाएको छ । किसानलाई अभिप्रेरित गरेको छ । ककनीका अर्का अगुवा किसान कमला तामाङ पनि स्ट्रबेरी खेतीमा रमाएकी छिन् । विदेश जाने युवासमेत गाउँमै रोकिएका छन् । पैसाको मुख देख्न विदेश नै जानुपर्छ भन्ने मान्यता क्रमशः भत्कँदै गएको छ । गाउँमा नै केही गर्न सकिन्छ र विदेशको भन्दा राम्रो कमाइ हुनसक्छ भन्ने तथ्य स्थापित भएको छ । उनले लगाएको स्ट्रबेरीका कारण गाउँका अन्यले समेत रोजगारी पाएका छन् । लकडाउन हुनुअघि रु एक लाख ५० हजार बराबरको स्ट्रबेरी बिक्री गरेको बताउने कमला गत चैत ११ गतेपछि बजारमा लैजान नसकेको गुनासो गर्छिन् । उनले सात हजार बिरुवा रोपेकी छिन् । स्ट्रबेरीका अलावा प्याज, लसुन, छ्यापीसमेत खेती गरेकी छिन् उनले ।

अर्की किसान मनिषा तामाङका अनुसार असिनाले झण्डै रु दुई लाख जति घाटा भयो । लकडाउनअघि रु दुई लाख जतिको स्ट्रबेरी बिक्री गरेको तथ्याङ्क सुनाउँदै उनले भनिन्, ‘हामी किसानलाई विपद् र प्राकृतिक प्रकोप एकैपटक प¥यो । उहाँले पनि सात हजार बिरुवा स्ट्रबेरीको लगाउनुभएको थियो । असिनापानीले स्ट्रबेरी छियाछिया पार्दा उनको मन पनि छियाछिया भएको छ । वर्षभरि छोरा छोरी पढाउने, घर खर्च चलाउने स्रोत नै सखाप भएको पीडा पोख्दै मनिषाले भनिन्, ‘हामीजस्ता किसानलाई कसले हेर्ला र खै ।’

धनबहादुर तामाङ ५६ वर्ष पुगे। कूल १० हजार स्ट्रबेरी बिरुवा रोपेका तामाङको पनि उस्तै पीडा छ । लकडाउनअघि रु चार लाखको व्यापार गरेको बताउने उनले असिनापानीले क्षति नपु¥याएको भए अझै रु चार लाख बराबरको स्ट्रबेरी बेच्ने योजनामा थिए । तर, उनको सोंच विपद्सँगै उडेको छ । भन्छन्, ‘हामी त साह्रै अन्यायमा प¥यौँ’, धनबहादुरको पाँच जनाको परिवार नै खेतीमा संलग्न छ ।
काठमाडौँको जमल, नक्साल, नयाँ सडकलगायत स्थानमा पु¥याएर स्ट्रबेरी बिक्री गर्ने ककनी–२ का प्रेम तामाङलाई पनि विपद्ले दिएको पीडाले सबैभन्दा बढी दुःखी बनाएको छ । असिनाले झण्डै रु चार लाख बढीको स्ट्रबेरी सखाप पारिदिएको छ । स्थानीय कृषि समूहबाट ऋण लिएर खेती गरेको बताउनुहुने प्रेमलाई ऋण अब कसरी तिर्ने भन्ने चिन्ताले सबैभन्दा बढी सताएको छ ।

साइला तामाङ ५७ वर्षका भए । परम्परागत खेतीबाट आजित भएपछि विगत १० वर्षदेखि उनी स्ट्रबेरी खेतीमा लागेका हुन् । सात हजार बढी स्ट्रबेरीका बिरुवा रोप्नुभएका साइलालाई विपद्ले पारेको प्रभाव लामो समयसम्म पर्ने बताउँछन् । यस वर्षको घाटा पूर्तिका लागि उनले अर्को वर्षको लगानी पनि जाने गुनासो गरे ।

निरास अवस्थामा बारीमा नै भेटिएकी ज्ञानीमाया तामाङले १० हजार बिरुवा रोपेकी थिइन् । असिनाले झण्डै रु चार लाख बराबरको स्ट्रबेरी खेती सखाप पारिदियो । उनले काक्रो, लसुन, छ्यापीको समेत खेती गरेकी छिन् । ती खेती पनि असिनाले सखाप पारिदिएको छ । भिरालो जमिनमा ड्याङ बनाएर गरिएको स्ट्रबेरी खेती ककनीका किसानका लागि बरदान सावित हुँदै आएको छ । स्ट्रबेरीमा एन्टिअक्सिडेन्ड, भिटामिन सी, प्रोटिन र खनिजजस्ता मानवउपयोगी गुण पाइन्छ । शितोष्ण जलवायुमा फल्ने उक्त फल पछिल्लो समयमा नेपालको प्रमुख नगदेबालीका रूपमा स्थापित भएको छ ।

ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा असिनापानीका कारण तरकारी खेती सबैभन्दा बढी प्रभावित भएको बताउँछन् । सो गाउँपालिकाका आठवटै वडामा चैतको अन्तिम सातादेखि वैशाखको ६ गतेसम्म परेको असिनापानीले ठूलो मात्रामा तरकारी बाली सखाप पारेको छ । अध्यक्ष लामाले भने, ‘हामीले सबै वडाबाट विवरण सङ्कलन गरिरहेका छौँ । कोही किसान सम्पर्कमा आउनुभएको छ । केही पछि आउनुहोला । उहाँहरु मर्कामा पर्नुभएको छ । उहाँहरुलाई आवश्यक सहयोग गर्न गाउँपालिका तयार छ ।’ अध्यक्ष लामाका अनुसार झण्डै ५० ग्रामका असिनाले खेती नष्ट पार्दा किसान असाध्यै मर्कामा परेको र राहतका लागि आवश्यक पहल गर्ने योजनामा गाउँपालिका छ । कोरोनाको त्रासका बीचमा असिनाले दिएको पीडाबाट बाहिर निस्कन सरकारको सहयोग खोजेका स्थानीय किसानले कसरी राहत पाउँलान् त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार