राजनीति
नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अराजक नोकरशाही प्रवृति बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने राजनीतिक प्रबृत्ति बढे प्राप्त उपलव्धीहरु नै गुम्ने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसका अवसरमा एक वक्तव्य जारी गर्दै नेता खानलले यस्ता चेतावनी दिएका हुन् ।
‘यो पार्टीलाई बैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपले सुदृढ र एकताबद्ध गरेर तथा पार्टीलाई नीति, विधि र पद्धति संगत ढंगले अघि बढाएर मात्र उपरोक्त उपलव्धीहरुलाई निरन्तरता दिन सकिन्छ । तर पार्टीमा अराजकताबादी र नोकरशाही प्रवृति बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने राजनीतिक प्रवृत्ति बढ्न थाले भने हामीले प्राप्त गरेका उपलव्धीहरु नै गुम्ने समेत खतरा पैदा हुन्छ’ खनालले वक्तव्यमा भनेका छन् ।
त्यस्तै उनले यो अवधिमा करिब ५८ वर्ष लगाएर जनवादी क्रान्ति सम्पन्न गरेको, १० वर्ष लगाएर हामीले देशको संविधान निर्माण गरेको, संविधान बमोजिम नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा प्रथम निर्वाचनमार्पmत देशमा केन्द्रीय, प्रदेश र स्थानीय सरकारहरुको गठन गरेको जनाएका छन् ।
यसबीचमा नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठुला पार्टीहरुलाई एकिकृत भएको र नेपाल कम्युनिष्ट पार्टीलाई सबैभन्दा ठुलो पार्टीका रुपमा स्थापित गर्दै समाजवादको लक्ष्यतिर उन्मुख भएर अघि बढिरहेको जनाएका छन् । उनले यी उपलब्धीलाई नेपाली कम्युनिष्ट आन्दोलनका असाधारण उपलव्धीहरु भनेका छन् ।
यिनै उपलब्धीहरुमार्फत राजनीतिक स्थिरता कायम भएको छ र मुलुक विकास निर्माण, प्रगति र समृद्धितिर अघि बढिरहेको खनालको भनाई छ । खनालले यतिबेला कुनै पनि प्रकारका अस्थिरतावादी प्रवृत्तिकाबिरुद्ध एकताबद्ध हुँदैं कोरोना भाइरसको महामारीका बिरुद्ध संघर्ष गर्नैपर्ने आवश्यकता रहकोमा जोड दिएका छन् । उनले त्यसरी अगाडि बढेर मात्र कोरोना महामारीविरुद्ध सफलतापूर्वक संघर्ष गर्न सकिने र राष्ट्र तथा मानव जातिलाई बचाउन सकिनेमा विश्वास व्यक्त गरेका छन् ।