logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नतिजा फरक फरक आएपछि पिसीआर परिक्षण बन्द


  • राजनीति
  • शुक्रबार, बैशाख १२ २०७७

प्रादेशिक अस्पताल जनकपुरधामस्थित पीसीआर प्रयोगशालामा स्वाब परीक्षण बन्द भएको छ। पीसीआर प्रयोगशालाको रिपोर्टमा शंका उपशंका उत्पन्न भएपछि तत्कालका लागि प्रयोगशाला बन्द गरिएको हो।

गत बिहीबार एक युवकको जनकपुरमा दुई पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ देखाए पनि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पोजिटिभ रिपोर्ट आएपछि परीक्षण बन्द गरिएको हो।

सर्लाहीको धनकौल गाउँपालिकाका एक १४ वर्षीय किशोरको जनकपुरमा दुई पटक नेगेटिभ रिपोर्ट आएको थियो। तर, काठमाडौंको प्रयोगशालामा पोजिटिभ नतिजा आएपछि पीसिआर मेसिनको विश्वसनियता माथि प्रश्न उठाउँदै चेकजाच बन्द गरिएको प्रयोगशाला निमित्त निर्देशक रामविनय साहले जानकारी दिए।

प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार फरक नतिजा आएपछि ति सबै नमुना शंकाको घेरामा परेका छन्।

‘जनकपुर र काठमाडौंमा फरक नतिजा आउनुमा पीसीआर मेसिन प्रमुख कारक हो, कम गुणस्तरको मेसिन जडान हुँदा भरपर्दो नतिजा आउन सकेन’, निर्देशक साहले भने, ‘अब हामीले परीक्षण गरेको सयभन्दा बढी नतिजामाथि समेत प्रश्न उठेको छ।’

साहले सर्लाही किशोरको घटनामा दुई पटक स्वाब परीक्षण गरेको बताउँदै भने, ‘दुवै पटकको नेगेटिभ रिपोर्ट थियो, तर टेकुले पोजिटिभ भन्यो, हामीले सयभन्दा बढी स्वाब परीक्षण गरिसकेका छौं, तर यहाँको रिपोर्ट र काठमाडौंको रिपोर्टमा फकरपना आयो, सही परिणाम नदिने मेसिनमा परीक्षण गर्नुको कुनै अर्थ छैन।’

निमित्त निर्देशक साहले यसअघि १५ स्थानमा जडान गरिएको एकै प्रकारको उपकरण मेसिन हटाएर बढी क्षमता भएको पीसीआर जडान भएपनि प्रादेशिक अस्पतालमा पुरानैको भरमा काम चलाउनु सरकारको कमजोरी भएको बताए। उनले भने, ‘नयाँ मेसिन जडान गर्न सरकारलाई जानकारी गराइसकेको छु, कार्यान्वयन कहिले हुन्छ, थाहा छैन्।’

प्रादेशिक अस्पताल जनकपुरका सेवानिवृत्त वरिष्ठ ल्याब टेक्निसियन अरुणकुमार मल्लिकले नमुना संकलन, परीक्षण प्रक्रिया, मेसिनको गुणस्तर र प्राविधिकको कार्य क्षमताले समेत नतिजा फरक पर्ने सक्ने बताए।

‘यहाँ ठीक र बेठिक भन्नु उचित होइन, नमुना संकलनदेखि परीक्षण र उपकरणको क्षमताको कुरासमेत आउँछ’, उनले भने, ‘कुनै पनि निचोडमा पुग्नु भन्दा पहिले समस्याको यकिन आवश्यक छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार