logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

अलपत्र हुम्लेली विधार्थीको खुलापत्र : भोको पेटलाइ सूर्य र रुखको चिन्हले सन्तुष्टि नदिने रहेछ


  • राजनीति
  • शनिबार, बैशाख १३ २०७७

खुल्ला पत्र !!
माननीय छक्क बहादुर लामा ज्यु नमस्कार ।

तपाईलाई पत्र लेखिरहँदा सम्म म आरामै छु र आरामै हुनुहुन्छ भन्ने कामना गर्दछु । तपाईंले राजनीति कहिले र कसरी सुरु गर्नुभो त्यो अहिले सोध्न र चर्चा गर्ने उत्साह म मा छैन । सुनेको छु यो बिषम परिस्थितिमा उत्पन्न जनताको संकटमा तपाईंको भूमिका छैन रे ! सङ्घीय सांसद हराए, प्रदेशका मन्त्री हराए, स्थानीय प्रतिनिधि हराए , दु:खमा त कहाँ आउँछन् र चुनावमा मात्रै आउनेरहेछन्, भन्ने जस्ता जनताको गुनासो र आक्रोशहरु सामाजिक सञ्जालमा भेटिरहेको छु । यसो हुनुमा दलाल संसदीय व्यवस्थामा निर्वाचितहरुको नागरिक प्रतिको वेवास्ताको कारणले हो। सरकारको कथित एकद्वार प्रणालीको कारणले लकडाउनका कारण संकट भोगिरहेकाको उद्दार हुन सकेको छैन। अन्य समय र सन्दर्भमा कतिपय कुराहरुलाई सामान्य रुपमा लिइएको भएपनि तर यो जटिल परिस्थितिमा कुनै बाहाना र लुकिछिपीको खेललाई सहन सकिदैन। भोको पेटलाइ सूर्य र रुखको चिन्हले सन्तुष्टि नदिने रहेछ ।

लकडाउनको समय अवधि लम्बिएसँगै देश का विभिन्न सहरमा भएका हुम्ला का गरिब मजदुर र विद्यार्थीका पिडाहरु झनै ज्यामितीय रुपमा बढ्दै गइरहेको छ । सतही रुपमा हेर्दा जनजीवन सामान्य देखिए पनि दैनिक ज्यालादारी गर्नेहरु र आफ्नो उज्यालो भबिस्यका लागि देशको विभिन्न सहरहरु मा अध्ययनका लागि गएका विद्यार्थीहरुको पिडालाई कुनै शब्दले व्याख्या गर्न सकिदैन। बिहान घाम झुल्के देखि पिडामा मलम पट्टि लगाउन कोही आउला कि भनेर आश मानेर बसिरहेका छन् । तपाइलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै हुम्ली मजदुर, किसान र विद्यार्थीहरु विभिन्न सहरहरुमा साँझ परेपछि मन अमिलो बनाउदै भोलिको प्रतिक्षा गर्नु बाहेक अरु बिकल्प छैन।
अब यहि आशाहरु पनि लामो समय टिक्न सक्ने अवस्था छैन । राजनीतिक दल बिचको प्रतिस्पर्धाले निर्दोष जनताले दुःख पाउन सुहाउँछ र ?? चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा रहेछ । तपाईंसँग हुम्ला का अन्य नेतृत्वहरु सँग भन्दा धेरै र प्रभावकारी अनुभव छ । जनताले तपाईसंग आस गरिरहेका छन्।

अब तपाइको हातमा छ विश्वासको स्तम्भलाई अझ अडिक बनाउने वा ढलमलाउन छोडिदिने । तपाइको क्षमता माथि म प्रश्न गर्न चाहन्न । संसदीय व्यवस्थाको नातावाद कृपावादका कारण तपाईंलाई पार्टीले टिकट नदिएपछि बागी उम्मेदवार बनेर पनि जित्नु भएको हो। व्यक्तिगत रुपमा म तपाईंलाई तुलनात्मक रुपमा इमानदार र क्रान्तिकारी लागेको थियोे । तर जनताको यो संकटमा तपाईंको साथ, सहयोग र भुमिका नदेख्दा संसदीय व्यवस्थाले तपाईंलाई पनि भ्रष्टीकृत गरेछ कि भन्ने आशङ्का उत्पन्न भएको छ । संसदीय व्यवस्थाको शक्ति, पैसा र चाकरी प्रवृत्तिको सिकार बनेको तपाईलाई तपाईंको पार्टीले उपेक्षा गर्दापनि हुम्ली जनताले तपाईंका बिरोधी शक्ति हरु लाई पत्ताशाप पारेर तपाईंलाई जिताएको यथार्थ जगजाहेर नै छ। हुनत तपाईं जुन व्यवस्थाको सांसद हुनुहुन्छ त्यो व्यवस्थाप्रति मेरो असहमति छ तर यो संकटलाई सबै एकतावद्द भएर मात्र जित्न सकिन्छ। त्यसैले तपाईसंग मेरा धेरै असहमति हुदाहुदै पनि ज्याला मजदुरी र अध्ययनका लागि देशका विभिन्न स्थानमा रहेका सबै हुम्लीलाई घर फर्कने व्यवस्था गर्न र हुम्लाबासी विपन्न जनतालाई आवश्यक राहतको व्यवस्था गर्न यो खुल्ला पत्र मार्फत अनुरोध गर्दछु।

कोरोनाबाट बच्न के गर्नु पर्छ त्यो सबैले जानीसके तर भोकमरीको पीडाबाट बच्न साथ र सहयोगको आवश्यकता परेको छ। जनताको दुःखमा आशा छ जनतालाई निराश बनाउनु हुने छैन !!

पुरन पुन!!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार