logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गुट बदले बादलले, यस्तो भाे नयाँ समिकरण


  • राजनीति
  • मंगलबार, बैशाख १६ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्कि‌ंदै जाँदा सांसदहरूबीच गुट परिवर्तनको खेल तीव्र बनेको छ, जसको उदाहरण हुन्- आपूर्तिमन्त्री लेखराज भट्ट । उनी कैलाली क्षेत्र नं. ४ बाट विजयी भएका हुन् ।

भट्ट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का निकट मानिँदै आएका थिए तर नेकपामा विवाद बढेपछि भने उनी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट भएका छन् । सोमबार बालुवाटारमा ओली निकट सांसदको छलफलमा मन्त्री भट्ट पनि सहभागी थिए ।

प्रचण्डका अति विश्वासपात्र भट्ट एकाएक ओलीतर्फ मोडिएका भने होइनन् । यसको आन्तरिक कारण यस्तो छ ।

सभामुख बन्ने चाहना अधुरो

तत्कालीन माओवादी पार्टीको भागमा परेको सभामुख बन्न भट्टले चाहना राखेका थिए । प्रचण्डका विश्वासपात्र भट्टलाई प्रचण्डले सभामुख बनाउने हल्ला पनि नचलेको होइन ।

सभामुख आफू निकट बनाउने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको चाहना थियो । उनले सभामुखमा आफूनिकट सुवास नेम्वाङलाई ल्याउने कोसिस गरेका थिए । तर, त्यही समयमा बनेको भैँसेपाटी गठबन्धनले उनको सपना साकार हुन पाएन । उक्त सपना साकार नभएपछि ओलीले तत्कालीन माओवादीमा खेल्न खोजे ।

ओलीले नै सभामुख माओवादीलाई नै बनाए पनि लेखराज भट्टलाई बनाउन प्रचण्डलाई सिफारिस गरे । त्यसपछि प्रचण्ड झस्किए । उनले यो कुरा बुझ्दै जाँदा भट्टले सभामुख र मन्त्रीमध्ये एक दिलाउन प्रधामन्त्री ओलीसँग साँठगाँठ गरेको कुरा खुल्न आयो ।

प्रचण्डले त्यो समयमा ओलीलाई ‘तपाईंले पात्र तोक्नुपर्दैन, यो काम तत्कालीन माओवादीले नै गर्छ’ भनेका प्रचण्ड निकट एक नेताले बताए ।

उनी भन्छन्, ‘पहिला त ओली सभामुख नेम्वाङलाई बनाउन चाहन्थे । त्यो चाहना पूरा नभएपछि भट्टलाई बनाउन खोजे तर प्रचण्डले कुरा बुझेपछि लेखराज भट्ट सभामुखको लिस्टबाट आउट भएका हुन् । उनी पहिला नै ओलीसँग मिलेका थिए ।’

प्रचण्डलाई नसोधी मन्त्री
प्रधानमन्त्री केपी ओलीले मन्त्री फेरबदल गर्दा भट्टलाई मन्त्री बनाए । मन्त्री बनाउँदा उनी तत्कालीन माओवादी कोटामा बनेका हुन् तर प्रचण्डले भने उनलाई मन्त्री बनाउन सिफारिस गरेका थिएनन् ।

ओलीले नै मन्त्री बनाएका भट्ट सोमबार भने ओलीको पक्षमा खुलेर नै बालुवाटरमा सहभागी भए । उनले ओलीका अब चाल्ने कदमलाई समर्थन गर्ने सहभागी एक सांसदले बताए ।

रामबहादुर थापा (बादल) पछिल्लो समयमा ओलीको पक्षमा लागेका समाचार बाहिरिए । प्रचण्ड-बादल भेटदेखि नै निकट थिए ।

माओवादी पार्टी विभाजन हुँदा मोहन वैद्य (किरण)सँग लागेका बादल अन्ततः फर्किेएर माओवादीसँग एकता गरे । माओवादी एमाले एकता भएपछि पनि बादल-प्रचण्ड निकट थिए तर पछिल्लो समय ओली निकट भएको बताइँदै आएको थियो ।

प्रचण्डले आफू र आफ्नो समूहलाई महत्त्व नदिने, सधैँ बादल समूह भन्दै परपर गर्न थालेको बादल र उनको समूहले महसुस गरेपछि विस्तारै ओली निकट बनेका थिए ।

८ वैशाखमा सरकारले ल्याएको अध्यादेशमा पनि अन्य माओवादी मन्त्रीको असहमति थियो तर बादलले भने सहमति जनाएका थिए । त्यसै दिन साँझ बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा पनि बादलले ओलीको पक्ष लिए ।

सरकारले ल्याएको अध्यादेश ठीक भएको भन्दै ओली र सरकारको बचाउ गरे । सधैँ अल्पमतमा हुने ओली त्यो दिन सचिवालयमा बराबरीमा पुगे । त्यसको दोस्रो दिन प्रचण्डले बादल, पम्फा भुसाल, देव गुरुङ र सूर्य सुवेदीलाई खुमलटार बोलाएर छलफल गरे ।

छलफलमा प्रचण्डले आफूले कमजोरी गरेको अबबाट त्यो गल्ती दोहरिन नदिने बचन दिएको बादल निकट एक केन्द्रीय सदस्यले बताए ।

उनले भने, ‘एमालेसँग प्रचण्डले पार्टी एकता गरेका हुन् । हामी एकतामा सबै सामेल भएका हौँ तर अझै बादल समूह भन्दै खेद्न नछोडेपछि किन पछि लागिरहनु भन्ने भएर ओलीतर्फ झुकाउ राखेका थिए । तर, खुमलबाटरमा भएको छलफलपछि हामी पूर्वमाओवादी प्रचण्डसँगै छौँ ।’

पछिल्लो राजनीतिक समीकरणमा बादललाई नेकपाको ‘गेम चेन्जर’को रूपमा हेरिन थालेको छ तर बादल भने प्रचण्डतर्फ नै फर्किएका छन् ।

उनी अहिले मौन बसे पनि उनी निकटहरूले पनि माओवादी छाडेर बाहिर जाँदा राम्रो असर नपर्ने बताएपछि उनी प्रचण्डसँगै बस्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार