logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

खनाल बस्नेत बिरुद्ध मुद्दा दर्ता नहुनुकाे रहस्य के ?


  • राजनीति
  • बुधबार, बैशाख १७ २०७७

काठमाडौं प्रहरी परिसर टेकु र  सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । तर दुई घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न मानेनन् ।

दुई घण्टा भन्दा बढी समय सरकारी वकिल कार्यालयमा रहेका जनता समाजवादी पार्टीका नेताहरु जाहेरी दर्ता नभएपछि फर्किएका थिए ।

बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताएका छन् ।

समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् ।

महोत्तरीबाट काठमाडौं ल्याएको भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए ।

खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

अध्ययनका लागि समय मागेको हुँ : सरकारी वकिल

सरकारी वकिलको कार्यालयका प्रमुख रेग्मीले भने अध्ययनका लागि समय माग्दा नदिएको गुनासो गरे । ‘उहाँहरुले प्रहरीले जाहेरी दर्ता गरेन, हामी निवेदन लिएर आएको भन्नुभयो’ रेग्मीले भने, मैले जाहेरी निवेदन आएको छ । त्यसमा अध्ययन गर्छु, किन दर्ता भएन, के आधार दर्ता नगरिएको हो प्रहरीसँग सल्लाह गर्छौं । सल्लाह गर्न समय दिनुस् भनेको थिएँ ।’

तर जसपाका नेताहरुले दर्ता गर्ने भए गर, नभए जान्छौं भनेर अडान लिएको उनले बताए । ‘आजै दर्ता नहुँदा हदम्याद गइहाल्ने, भोलि मुद्दा नै नलाग्ने भएको भए मैले पनि हेर्थेँ । तर यो त्यस्तो जाहेरी होइन’ उनले भने, ‘ जाहेरी छोडेर जानुस् । तपाईहरुले धर्यता राखे यो हप्ताभरी दिनुस्, नभए एकदुई दिन दिनुस् भनेर मैले भनेको थिएँ । उहाँहरुले धर्यता राख्नु भएन ।’

सुरुमा जाहेरी लिएर गएका जसपाका नेताहरुले पछि प्रतिलिपी छाडेर गएको रेग्मीले सुनाए । उनले भने, ‘अब उहाँहरु आउनु भयो भने म निर्णय गरेर दिन्छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार