logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बहुमत भएपछि संसदीय दलको बैठक बोलाउने तयारीमा ओली


  • राजनीति
  • बुधबार, बैशाख १७ २०७७

पार्टीमा बढेको असन्तुष्टिको समाधान गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले स्थायी समिति बैठक बोलाउन गरेको मागको वेवास्ता गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउने तयारी गरेका छन् ।

त्यसका लागि उनले आफु निकटका नेताहरुलाई परिचालन गरेर संसदीय दलमा बहुमत सिद्ध गर्नेगरी सांसदहरुको हस्ताक्षर अभियान चलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमै बोलाएर सांसदहरुलाई हस्ताक्षर गर्न लगाएका छन् ।

अध्यादेश प्रकरणपछि नेकपाका नेताहरुले तत्काल स्थायी समिति बैठक बोलाएर त्यसबारे प्रष्टिकरण दिनुपर्ने माग राखेपछि ओली भने संसदीय दलमा बहुमत सिद्ध गर्ने अभियानमा जुटेका हुन् । पछिल्लो समय ओलीको स्वेच्छाचारी प्रवृत्ति बढेको पार्टी नेताहरुको गुनासो पछि कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरुले ओलीलाई स्थायी समिति बैठक बोलाउन सुझाव दिइरहेका छन् । तर स्थायी समितिमा अल्पमतमा रहेका ओली त्यहाँ मागिने आफ्नो राजीनामा टार्न संसदीय दलतर्फ लागेका हुन् ।

मधव नेपाल, वामदेव गौतमलगायतका नेताहरुले ओलीलाई अध्यक्ष पद छोड्न दिएको सुझाव नमानेपछि प्रधानमन्त्रीबाट समेत हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको हो ।

आज बुधबारका लागि बोलाइएको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको प्रस्ताव आउने भएकाले ओलीले संसदीय दलमा बहुमत जुटाएर दलको बैठक बोलाउन प्रस्ताव लैजान खोजेको एक नेताले बताएका छन् ।
प्रतिनिधिसभामा नेकपाका हाल १७४ जना सांसद छन् । जसमा बहुमत सिद्ध गर्न ८८ जना सांसद चहिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार