logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भट्ट केपीतिर जादा किन माैन छन प्रचण्ड


  • राजनीति
  • बिहिबार, बैशाख १८ २०७७

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका सुदूरपश्चिमका पूर्वमाओवादी नेता लेखराज भट्ट केपी ओलीको गुटमा लागेको चर्चा मिडियामा व्यापक बनेको छ । मन्त्री भट्ट आफ्नो समूहतिर आएकोभन्दै ओली पक्षका नेताहरूले खुसियाली मनाइरहेका छन् ।

मन्त्री भट्ट आफ्नो गुटमा आएपछि अब संसदीय दलमा प्रधानमन्त्रीको बहुमत पुग्न सहज हुने भन्दै संस्थापन पक्षका सांसदहरूको हस्ताक्षर पनि संकलन गरिरहेका छन् ।
तर, भट्ट ओलीतिर लागेको चर्चा चलिरहँदा अध्यक्ष प्रचण्डले भने भट्टलाई आफूतिर तान्न खासै चासो देखाएका छैनन् ।

मन्त्री भट्ट केपी ओलीको गुटमा लागेको र बालुवाटारमा आयोजना गरिएको भेलामा समेत सहभागी भएको खबर आएपछि केही पूर्वमाओवादी नेताहरूले प्रचण्डलाई भनेका थिए, ‘भट्टजीसँग एकपटक अध्यक्षज्यूले कुरा गर्ने हो कि ?’

जवाफमा प्रचण्डले उनी ओलीतिरै लाग्दा पनि केही फरक नपर्ने बताएका थिए । प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘भट्टजीलाई म यता लाग्नोस् उता लाग्नोस् केही भन्दिनँ । पार्टी एउटै हो, जता लागे पनि हुन्छ । संकटको बेलामा आफ्नो भूमिका के कस्तो हुने भन्ने कुरा स्वयंले तय गर्नुपर्छ ।’

सुदूरपश्चिमका नेकपा नेता भट्ट ओलीतिर लागे पनि पूर्वएमालेका नेता भीम रावल आफूहरूसँग नजिक रहेको उदाहरण दिँदै प्रचण्डले पार्टीमा पूर्वगुटहरू एकैतिर हुनुभन्दा यसैगरी छ्यासमिस हुँदाखेरि नै एकताको भाव सञ्चार हुने बताएको एक नेताले बताए । ‘अब पूर्वगुटहरू एकै ठाउँ हुनैपर्छ भन्ने छैन,’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले अनलाइनखबरसँग भने, ‘विवेकका आधारमा जो जता लागे पनि हुन्छ ।’

मन्त्री भट्ट अहिले ओली नेतृत्वको सरकारमा छन् । सरकारमा भएको व्यक्तिले आफ्नै प्रधानमन्त्रीविरुद्धमा सार्वजनिकरुपमा बोल्न नैतिकताले दिँदैन । यस्तो अवस्थामा एकजना मन्त्रीले प्रधानमन्त्रीको बचाऊमा बोल्नु स्वाभाविकै भएको नेकपा नेताको भनाइ छ ।

भीम रावलको सेखी झार्ने मनसाय

उद्योगमन्त्री भट्ट ओलीसँग नजिक हुनुमा भीम रावल कारक रहेको नेकपा नेताहरू बताउँछन् । पछिल्लो दिनमा प्रचण्डले अब सुदुरपश्चिमको नेता भीम रावल नै हुने बताएपछि भट्ट प्रचण्डसँग रिसाएको नेकपाका एक नेताले बताए ।

‘अध्यक्ष प्रचण्डले पूर्वएमालेमा उपाध्यक्षसमेत भइसकेका भीम रावलसँग बढी संगत गर्न थालेपछि लेखराज भट्टले चित्त दुःखाउनुभएको हो,’ पूर्वमाओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘अर्कोतिर भीम रावललाई भित्तामा पुर्‍याउन चाहिरहेको केपी ओली पक्षले उनीविरुद्ध लेखराजलाई उचालेको हो । एउटा नेताविरुद्ध अर्कोलाई उचाल्ने ओली पक्षको विशेषता नै हो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार