राजनीति
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र वामदेव गौतमलाई क्रमशः तेस्रो वरियताको अध्यक्ष र कोरोनापछिको प्रधानमन्त्री दिने प्रस्ताव गरेसँगै ओलीपक्ष र इतरका नेताहरु लगातार छलफलमा जुटेका छन् । ती छलफलमा आ–आफ्नै अनुकुलका व्याख्या र विश्लेषण हुने गरेका छन् ।
यसैक्रममा कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपाललाई ओलीको राजीनामा र स्थायी समिति बैठकको आफ्ना एजेण्डाबाट पछि नहट्न चर्को दवाव बढेको छ ।
स्थायी समिति सदस्यहरुले दुवै नेताहरुलाई ओलीको भुलभुलैयामा नपर्न भन्दै उनको राजीनामा र स्थायी कमिटीको बैठकको एजेण्डाबाट पछि हटे दुर्भाग्य हुने चतावनी समेत दिएका हुन् ।
बिहीबार र शुक्रबार स्थायी समिति सदस्यहरुले अध्यक्ष प्रचण्ड र नेता नेपाललाई भेटेर कुनै हालतमा एजेण्डाबाट पछि नहट्न दवाव दिएका हुन् ।
शुक्रबार अध्यक्ष प्रचण्ड र नेता नेपालसँग स्थायी समिति सदस्यहरुले चारवटा विषयमा गम्भीर छलफल गरेका छन् । जसमा सरकारले अध्यादेश ल्याएर पार्टीमा विभाजनको मनोविज्ञान सिर्जना गरको भन्दै उक्त मनोविज्ञान समाप्त गरेर पार्टीलाई कसरी एकतावद्ध बनाएर अगाडि लैजाने भन्ने विषयमा छलफल भएको छ ।
त्यस्तै ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई तेस्रोे वरियताको अध्यक्ष बनाउने प्रस्तावका विषयमा विभिन्न कोणबाट पनि छलफल भएको छ । शनिबारको बैठकमा प्रधानमन्त्री पहिलाको बचनमा कायम रहन्छन् या रहँदैनन् र रहेको खण्डमा कानुनी तथा प्रकृयागत कुरा के हुन्छ भन्नेबारेमा पनि छलफल भएको छ ।
स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री र अध्यक्ष भएको नाताले अरुले गुटगत भेला गरेपनि नगर्नु भन्नुपर्नेमा उनले आफै बालुवाटारमा सांसदहरुको गुटगत भेला गर्ने, राज्यशक्तिको दुरुपयोग गर्ने र पार्टीका सांसदहरुलाई धम्क्याउने जस्ता काम गरेको निष्कर्ष समेत निकालेका छन् ।
त्यस्तै ओली पक्षले हस्ताक्षर गर्न थालेपछि इतर पक्षले पनि हस्ताक्षर थाल्नुपर्ने हो भनेर प्रश्न गरेका थिए ।
त्यस्तै २० जना सथायी कमिटी सदस्यले बैठक बोलाउन माग गरेपनि अध्यक्षले चासो नदेखाएकोमा आपत्ति जनाउँदै आफ्ना मागका सम्बन्धमा सचिवालय सदस्य र कार्यकारी अध्यक्षबाट शनिबारको सचिवालय बैठकमा गम्भीर रुपमा राखियोस् भनेर सुझाव दिएका छन् ।
उनीहरुले पार्टीको विधि र प्रणालीप्रति ध्यानाकर्षण गराउन समेत सुझाव दिएका छन् । कार्यकारी अध्यक्षले आजै बालुवाटारमा प्रधानमन्त्री समेत रहेका ओलीसँग कुराकानी भएपनि सकारात्मक नभएको भनेर जानकारी गराएका थिए ।
यसरी दवाव दिनेमा गत साता स्थायी समिति बैठकको माग गर्दै लिखित पत्र बुझाएका २० सदस्यलगायत अन्य पनि थपिएको उनीहरुले बताएका छन् । नेताहरुको दवावपछि कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालबीच समेत छलफल भएको छ तर शीर्ष नेताले यसबारे मुख भने खोलेका छैनन् ।
‘ओलीले अघि सारेका दुवै प्रस्ताव कार्यान्वयन नगर्ने र भुलभुलैयामा राख्ने किसिमका छन् । त्यस्ता हास्यस्पद प्रस्तावका पछि नलाग्न नेताहरुलाई हामीले खवरदारी गरिरहेका छौ’ स्थायी समिति सदस्य बेदुराम भुषालले रातोपाटीसँग भने ।
उनले पदका लागि बैठकको माग नगरिएको भन्दै पार्टीलाई विधि र पद्धतिमा हिँडाउनु पर्छ भन्दा पद दिएर अल्मल्याउने प्रवृतिको झन् कडा ढंगले विरोध गर्नुपर्ने अवस्था आएको बताए ।
‘राजीनामा र स्थायी समितिको बैठकको विकल्प छैन भनेर हामीले भनिरहेका छौ,’ अर्का स्थायी समिति सदस्य भीम रावलको भनाइ छ ।
उनले पार्टीलाई विधि र पद्धतिमा हिँडाउनुको सट्टा पद बाँडदै गल्ति छोप्ने प्रयास अस्वीकार्य हुने समेत बताए । प्रचण्ड र वरिष्ठ नेता नेपालबाहेक स्थायी समिति सदस्यहरुले उपाध्यक्ष गौतमलाई पनि ओलीको जालमा नपर्न सुझाव दिएका छन् ।
‘बामदेव गौतमलाई हामीले नेता मानेका छौ । उहाँले पार्टीलाई विधि र पद्धतिमा हिँडाउनुपर्छ भनेर हामीलाई सिकाउनुभएको हो । र अहिले हामी त्यही कुरा गर्दैछौ । उहाँ ओलीको माकुरी जालमा पर्नुहुन्छ होला जस्तो लाग्दैन । यदि पर्नुभयो भने उहाँप्रतिको हाम्रो विश्वास रहन्न’ स्थायी समिति सदस्यहरुको भनाइ छ ।