राजनीति
विश्व स्वास्थ्य संगठनले विश्वभरका देशहरुले कोरोना संक्रमणका बारेमा बुझिनसक्दै युरोप लगायतका संसारका विभिन्न ठाउँहरुमा भाइरस पुगेको हुनसक्ने खतरा औंल्याएको छ । विश्व स्वास्थ्य संगठनको यो प्रतिक्रिया फ्रान्सका एक चिकित्सकको दाबी पछि आएको हो ।
फ्रान्सका एक चिकित्सकले गत वर्ष सन् २०१९ को २७ डिसेम्बरमा स्वास्थ्य परीक्षण गरिएका एक निमोनिया संक्रमित बिरामीलाई आहिले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको दाबी गर्दै आएका छन् । उनको दाबीका आधारमा कोरोना संक्रमण एक महिनाअघि नै युरोपमा पुगेको हुनसक्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।
मंगलबार जेनेभामा बोल्दै विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिश्चियन लिन्डेमयरले उक्त समाचारबाट आफु ‘अचम्मित नभएको’ बताए । उनले अरु देशहरुलाई पनि उपलब्ध पुराना नमुनाहरुलाई परीक्षण गर्न अपिल गरेका छन् । खासगरी विश्वका सबै मुलुकहरुले सन् २०१९ नोभेम्बर र डिसेम्बरमा लिइएका स्वस्थ्य परीक्षण नमुनाहरुको पुनः परीक्षण गर्न आग्रह गर्दै यसले कोरोना महामारीविरु’द्ध एक स्पष्ट साझेदारी विकास गर्न मद्धत पुग्ने दाबी समेत उनले गरे । –बीबीसी