राजनीति
शनिबार थप सात जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ। जसमध्ये ७८ पुरुष र ३१ महिला छन्। संक्रमितमध्ये ३१ जना निको भएर डिस्चार्ज भएका छन्। ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र प्रदेश नम्बर ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित हुन्।
शनिबार रिपोर्ट पोजिटिभ देखिएका सातजना उदयपुर, कपिलवस्तु र पर्साका हुन्। उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।
शनिबारसम्म पीसीआर १६ हजार तीन सय ९ जनाको नमुना परीक्षण भएको छ भने आरडीटी विधिबाट ५५ हजार ९ सय ३० जनाको नमुना परीक्षण भएको छ। अहिले १४ हजार पाँच सय ९२ क्वारेन्टाइनमा छन् भने उपत्यकामा दुई र बाहिर १४१ गरेर आइसोलेसनमा १४३ जना छन्।