राजनीति
संसारकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो आफ्नो भन्दै चीनले प्रचार गरेपछि सर्वत्र आलोचना भएको छ । लगत्तै ट्वीटर पेजमा शिखरको तस्बिर सहित सगरमाथाको चुचुरो चीनमा पर्छ भनी उल्लेख गर्ने चिनियाँ राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आज सच्याएको छ । उसले चीन-नेपालमा सीमामा पर्छ भनेको छ ।
विरो’धको स्वर आउन थालेपछि उसले सच्याएको त छ । चुचुरो चीन-नेपाल सीमामा पर्ने भनेको छ । सगरमाथाको तस्बिरहरु राखेर चिनियाँ राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचारप्रसार गरेकोमा आज सच्याएर चीन-नेपाल सीमामा पर्छ भनेको छ । तर, सगरमाथाको शिखर नेपालमा पर्छ न कि चीन-नेपाल सीमामा ।
यसअघि २ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको अदभुत घेरा भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो । ट्वीटर पेजमा सोही तस्बिर राखेर आज सर्वोच्च शिखर चीन नेपाल सीमामा पर्छ भनी उल्लेख गरिएको छ ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन हो । यो विश्व परिवेशमा चीनको आधिकारिक धारणा र समाचार प्रसारण र प्रकाशन गर्छ । उक्त टेलिभिजनमा सगरमाथा चीनमा पर्छ भनी उल्लेख गर्नु र सच्याएर चीन नेपालमा पर्छ भनी लेखिनु अर्थपूर्ण छ । अहिले चीनले सगरमाथाको उचाई मापन गरिरहेको समाचार बाहिर आएको छ । सगरमाथाको चुचुरो नेपालको रहेको अवस्थामा नेपाल सरकारको अनुमति विना मापन गर्न पाइँदैन ।
सगरमाथाको चुचुरो नेपालमा पर्छ र यसलाई विश्वले नै स्वीकार्दै आएको छ । तर, चीनले पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालाई चोमोलोङमा भन्दै आफ्नो देशमा पर्ने प्रचार गर्न थालेको छ । सर्वत्र विरोध भएपछि पनि सीमामा रहेको उल्लेख गरिएको छ ।