logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

फिर्ता देऊ !


  • बलराम तिमिल्सिना
  • मंगलबार, बैशाख ३० २०७७

कि हाम्रो लक्ष फिर्ता देऊ
गौरवको पक्ष फिर्ता देऊ
कि देऊ जोडी छुटेका
शयनका कक्ष फिर्ता देऊ !

लगानी हाम्रो फिर्ता देऊ
जवानी हाम्रो फिर्ता देऊ
तिमीले धोका दिएको
कुर्वानी हाम्रो फिर्ता देऊ !

तिमी छौ सुख सागरमा
र हामी दुखमा डुब्दै
तिमीले छोडेर भाग्यौ
नयाँ घुम्तीमा नपुग्दै !
कि हाम्रो झोला फिर्ता देऊ
भरुवा वम गोला फिर्ता देऊ
तिमीले पौडी खेलेको
रगतको खोला फिर्ता देऊ !

तिमी छौ बैरीको घरमा
शरमले मुख छोपेर
सहिदका मासुका चोक्टा
हसुर्दै खुन चोपेर
ती सिरका तारा फिर्ता देऊ
बिगतका सारा फिर्ता देऊ
पसिना आसुका हाम्रा
तिलिचो रारा फिर्ता देऊ

तिमी छौं मग्न मस्तीमा
असर्फी हातले गन्दै
अहा क्या स्वर्ग जस्तो भो
नमर्दै जीवितै भन्दै
खुसीको नाश फिर्ता देऊ
कि हाम्रा आश फिर्ता देऊ
कि देऊ शास मान्छेको
कि हाम्रा लाश फिर्ता देऊ !

२०७७|०१|३०
भक्तपुर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार