logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

घर न घाटका गाैतम, चार नेताका ४ दाउ


  • राजनीति
  • बुधबार, बैशाख ३१ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न ३१ वैशाखमा स्थायी कमिटी बैठक बाेलाइएको छ । विवादबीच नेताहरू गुट अदलबदलमा ब्यस्त छन् । पुसदेखि बनेको भैँसेपाटी समीकरण वैशाखको तेस्रो साता भत्किएको छ ।

भैँसेपाटी समीकरण भत्केपछि नेकपाको स्थायी कमिटीमा अब के हुन्छ भन्ने प्रश्न छ । भैँसेपाटी समीकण पुन: बन्छ अथवा भत्केको भत्क्यै हुन्छ ? नेकपामा अब कस्तो समीकरण बन्ला ? धेरै प्रश्नहरू अनुत्तरित छन् । तर, नेकपाको नेतृत्वले भने यतिबेला पार्टीलाई भन्दा आआफ्नो दाउलाई प्राथमिकतामा राखेका छन् ।

प्रधानमन्त्री ओलीकाे  दाउ

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अहिले पार्टी र संसदमा अल्पमतमा छन् । पार्टी एकता र सरकार सञ्चालनको २ वर्षमा ओलीले एकलौटी गरेको भन्दै सचिवालयदेखि केन्द्रीय कमिटीसम्म आलोचना हुँदै आएको छ ।

नेकपाको दैनिक पार्टी सञ्चालनको काम सचिवालयले गर्छ । सचिवालयमा ओली पहिले अल्पमतमा थिए । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले भैँसेपाटी गठबन्धन बनाए ।

गत पुसमा बनेको यो गठबन्धन तोड्न ओलीले धेरै प्रयास गर्दा पनि सफल हुन सकेका थिएनन् । तर सचिवालय बैठकमा गौतम र बादलले साथ दिएपछि सचिवालय उनको पकडमा गयो ।

ओलीको पहिलो दाउ सचिवालयमा बहुमत पुगेसँगै पुरा भए पनि अव स्थायी कमिटीमा बहुमतमा कसरी पुग्ने भन्नेमा देखिन्छ ।

पछिल्लो समयमा नेकपामा एक व्यक्ति एक पदको मुद्दा उठेको छ । यो कार्यान्वयन भएमा नेकपाका धेरै नेताहरूले एक पद गुमाउनेछन् । नेपाल खेमाले यो मुद्दा अन्य नेताका लागि भन्दा ओलीलाई केन्द्रमा राखेर उठाइरहेकाले पनि उनी अप्ठेरोमा छन् ।

ओलीको अहिलेको प्राथमिक दाउ प्रचण्ड र नेपालमध्ये एक जनासँग मिलेर सबै कमिटीमा बहुमत जुटाउनु हो ।

अध्यक्ष  प्रचण्डकाे दाउ 

एकता गर्दा जेट विमानको चालकको उपमा पाएका प्रचण्डले मन खोलेर जहाज चलाउन पाएनन् । एकताको २ वर्षमा औँलामा गन्न सकिने गरी मात्र पाइलटको काम पाएका प्रचण्डलाई पछिल्लो समयमा जहाज एक्लै उडाउन मन लागेको छ । यो मौका कुरेर बसेका प्रचण्डका लागि ओली–नेपाल झगडामा खेल्ने उपयुक्त दाउ कुरेर बसेका छन् ।

ओलीसँग भएको आलोपालो प्रधानमन्त्रीको गोप्य सम्झौता सार्वजनिक गरेर कार्यकारी अध्यक्षको भूमिका पाएका प्रचण्ड यतिबेला ओली–नेपाललाई लडाएर पार्टीमा शक्ति बढाउने दाउमा छन् ।

व्यहारमा अहिले पनि ओलीले नै पार्टीका अधिकांश बैठकको अध्यक्षता गर्दै आएका छन् । अहिले प्रचण्डले पनि एक व्यक्ति एक पदको मुद्दालाई कार्यान्वयन गर्न पाएमा ओलीले अध्यक्ष या प्रधानमन्त्री छोड्ने अवस्था आउने देखेर उनी पनि सकेसम्म कार्यकारी अध्यक्ष हुने दाउमा छन् ।

नेता झलनाथ खनालकाे दाउ 

वरिष्ठ नेता झलनाथ खनालको पनि आफ्नो दाउ छ । उनी यदि सबै समीकरण परिवर्तन भएमा आफ्नो पनि पालो आउने आसमा छन् खनाल । यदि नेकपामा पार्टी र सत्ता समीकरण परिवर्तन भएमा खनाल आफूलाई राष्ट्रपतिको रूपमा उभ्याउने दाउमा छन् ।

ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा पद पनि नछोडेमा पदबाट हटाउने अवस्था आएमा नेकपाको पार्टी र सरकारको समीकरण नै परिवर्तन हुनेछ । त्यसबेला अवसर आइपुग्ने दाउ कुरेर खनाल बसेका छन् ।

नेता माधवकुमार नेपालकाे दाउ

नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालको झन् ठूलो दाउ छ । उनी ओलीको कार्यशैलीप्रति नै असन्तुष्ट छन् । दुई पटक पार्टीको सचिवालय बैठकमा नै नोट अफ डिसेन्ट लेखेका नेपाल आफ्ना एजेण्डा स्थापित गर्ने दाउमा छन् ।

उनले उठाउँदै आएको एक व्यक्ति एक पदको मुद्दा नेकपाका हरेक कमिटीमा उठ्न थालेको छ । ओलीलाई एक पद रोज्न दबाब दिँदै आएका छन् । उनको मान्यता पार्टी वा सरकारमध्ये एक पद मात्र हुनुपर्नेछ । यस्तो अवस्था आएमा उनीनिकट नेताहरू धेरैले पार्टीमा काम पाउनेछन् ।

नेकपाका असन्तुष्ट स्थायी कमिटी सदस्यको प्रश्नः संसद बोलाउन हुने, बैठक बोलाउन किन नहुने ?

उनी पनि यदि ओलीले पार्टी अध्यक्षको पद रोजेमा प्रधानमन्त्री आफू हुने योजनामा छन् । यसका लागि सबैभन्दा बढी प्रचण्डले नेपाललाई साथ दिएको नेकपाका नेताहरू नै बताउँछन् ।

घर न घाटका वामदेव

नेकपाको उपाध्यक्ष वामदेव गौतम भने घर न घाटको अवस्थामा पुगेका छन् । पार्टी एकतादेखि प्रचण्डसँग मिलेका गौतम वैशाखदेखि ओली क्याम्पमा सरेका छन् ।

उपनिर्वाचन गरेर भए पनि सांसद हुँदै प्रधानमन्त्री बन्ने दाउमा रहेका गौतमका लागि अध्यक्ष ओली नै धेरै अवस्थामा बाधक बने । तर, प्रचण्ड–नेपालले उनलाई सके प्रतिनिधिसभामा नभए राष्ट्रियसभामा लैजान जोड बल मात्र गरेन्, सचिवालयमा निर्णय नै गराए ।

ओलीले सचिवालयको निर्णय नमानेपछि राष्ट्रियसभामा सांसद हुने दाउ पनि सकिएको थियो ।

सधैँ सचिवालयमा अल्पमतमा रहेका ओलीले १७ वैशाखको सचिवालय बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । त्यसपछि गौतमलाई प्रचण्ड–नेपाल खेमाले पत्याउन छाड्यो ।

कहिले ओली, कहिले प्रचण्डनिकट बन्दै आएका गौतम यतिबेला दुवै गुटबाट टाढा हुँदा पार्टीभित्र उनको शक्ति भने शून्यमा झरेको नेताहरू बताउँछन् ।

गुट परिवर्तन गरेका कारण यतिबेला गौतमजी पार्टीमा झण्डै शून्य शक्तिको अवस्थामा हुनुहुन्छ तर निर्णायक भने अहिले पनि गौतम नै हुन्,’ एक स्थायी कमिटी सदस्य भन्छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार