राजनीति
नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारको नीति तथा कार्यक्रका साथै आगामी बजेटको विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा वाम गठबन्धनले जनतासँग गरेको प्रतिबद्धताअनुसार, नीति तथा कार्यक्रम र त्यसमा आधारित रहेर बजेट आउनुपर्ने विषयमा उहाँहरूले छलफल गर्नुभएको जनाइएको छ । आउँदो जेठ १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा सम्बोधनमार्पmत सार्वजनिक गर्नुहुनेछ । विभिन्न स्तरमा नीति तथा कार्यक्रमबारे छलफलका साथै बजेटका प्राथमिकता विषयमा छलफल चलिरहेको बेला दुई जना बीचमा छलफल भएको हो ।
पार्टी एकीकरणको तयारीमा रहेका एमाले र माओवादी केन्द्रले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा गठबन्धन बनाएर चुनाव लडेका थिए । चुनावमा वाम गठबन्धनबाट एउटै चुनावी प्रतिबद्धतापत्र पनि जारी गरिएको थियो ।
सोही प्रतिबद्धताअनुसार जनताले परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम आउनुपर्ने दुवै नेताको जोड रहेको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जानकारी गराएको छ ।
नेताद्वयबीच दुई जनाको बीचमा पार्टी एकीकरणको विषयमा पनि छलफल भएको छ । बराबरीको हैसियतमा पार्टी एकीकरण गर्ने माओवादी केन्द्रका अडानका कारण एकता घोषणामा ढिलाइ भइरहेको बेला छलफलमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अोलीको अभिव्यक्तिले एकता प्रक्रियामा असहज उत्पन्न भएको कुरा राख्नुभएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ गते हुन लागेको दुई दिवसीय राजकीय भ्रमणका तयारीमा लागेका कारण पार्टी एकताको विषयमा भ्रमणपछि छलफल हुने दुवै नेताबीच कुराकानी भएको बताइएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार एकताको विषयमा दुई अध्यक्षबीच निरन्तर छलफल भइरहेको र अब प्रधानमन्त्री मोदीको भ्रमणपछि मात्र छलफल हुनेछ । छलफलमा प्रधानमन्त्री अोलीको ट्वीट र सञ्चारमाध्यममा आएका अभिव्यक्तिले सिर्जना गरेको भ्रमको विषयमा दुई नेताबीच छलफल भएको अध्यक्ष प्रचण्डका निजी सचिवालले जानकारी गराएको छ ।
प्रधानमन्त्री ओलीले लेख्नुभएको ट्वीट आफूलाई लक्षित गरी लेखेको भन्दै मङ्गलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पनि अध्यक्ष प्रचण्डले आपत्ति जनाउनुभएको थियो । उहाँले आफूले यस विषयमा प्रधानमन्त्री ओलीसँग कुराकानी गर्ने भन्नुभएको थियो ।