logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रतुवा मृगको शिकार गरेको आरोपमा गोरखामा सात जना पक्राउ


  • राजनीति
  • शनिबार, जेष्ठ ३ २०७७

गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारबाट मृगको शिकार गरेको आरोपमा सात जनालाई शुक्रबार पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर भइ सिउरेनीटार बस्दै आएका इन्द्रजित ओली रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए।

पक्राउ परेकाहरुले रतुवा मृग शिकार गरेको पाइएको उनले बताए।

जङ्गलबाट मृगको शिकार गरी घरमा ल्याएर मासु काटेर भागभण्डा गरिरहेको अवस्थामा स्थानीयवासी खुमबहादुर माझीलाई गत आइतबार मासुसहित प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यलाई बुझाएको थियो भने अन्य भागेका थिए।

घटनामा संलग्नहरुको खोजी गर्दै जाँदा उनीहरु सबै पक्राउ परेको प्रमुख पौड्यालले बताए।

‘माझीलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न थप छ जनाको पहिचान भएपछि उनीहरुलाई पनि पक्राउ गरिएको हो’, उनले भने, ‘पक्राउ परेका सबै मृगको शिकार गर्न सहभागी भएको पाइएको छ।’

पक्राउ परेकाहरु माथि वन ऐन अनुसारको वन्यजन्तु अवैध शिकार गरेको कसुरमा मुद्दा दर्ता गर्ने गरी अनुसन्धान अघि बढाइने प्रमुख पौड्यालले बताए।

घटनास्थलबाट बरामद गरिएको मृगको मासु भने स्थानीय जनप्रतिनिधिको रहोवरमा डिभिजन वन कार्यालय परिसरमा गाडिएको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार