logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

भारतबारे प्रधानमन्त्रीकाे अभिव्यक्तिले जटिलता थप्याे : कांग्रेस


  • राजनीति
  • शुक्रबार, जेष्ठ ९ २०७७

प्रमुख प्रतिपक्षी कांग्रेसले समस्याको समाधान खोज्नेभन्दा उत्तेजना फैलाउने गरी हलुका अभिव्यक्ति दिने काम रोक्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नीति तथा कार्यक्रममाथि जवाफं दिने क्रममा भारतको राष्ट्रिय प्रतिक र कोरोना भाइरसबारे दिएको अभिव्यक्तिले अनावश्यक विवाद र जटिलता थप्ने काम गरेको कांग्रेसको ठहर छ ।

कांग्रेस उप-सभापति बिमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले राष्ट्रवादका नाममा उत्तेजना फैलाउने काम नगर्न आग्रह गरेको हो । ‘सरकारको नीति तथा कार्यक्रमममाथि उठेका प्रश्नहरूको उत्तर दिने क्रममा संसदीय मर्यादा र अभ्यास विपरीत प्रधानमन्त्री ओलीले छिमेकी मित्र राष्ट्रको प्रतिकका विषयमा गरेको टिप्पणी असंसदीय रहेको हुनाले यसबाट अनावश्यक विवाद र जटिलताहरू थपिएको छ,’ प्रतिष्ठानद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानको दुई दिन बसेको बैठकबारे सार्वजनिक निर्णयमा सरकारलाई सीमा समस्या समाधानका लागि उच्चस्तरीय कुटनीतिक पहल गर्न भनिएको छ । लिपुलेक मार्गसँगै भारतसँग सीमा जोडिएका र उत्तर चीनतर्फ रहेका सीमा समस्याहरूको स्थायी समाधान खोज्न उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल गर्नुपर्ने प्रतिष्ठानको निष्कर्ष छ । बैठकका निर्णय सार्वजनिक गर्दै कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले सीमा विवादबारे सरकारले विज्ञहरूसँग आवश्यक परामर्श र सम्वाद गरी समाधानका लागि उपयुक्त दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताए ।

त्यस्तै प्रतिष्ठानले कोरोना भाइरस संक्रमण परीक्षणका लागि पीसीआर विधिमा जोड दिन सरकारसँग माग गरेको छ । त्यस्तै चर्को शुल्क तिरेर आमनागरिकले कोरोना परीक्षण गर्न कठिन हुने भन्दै प्रतिष्ठानले निःशुल्क र प्रभावकारी परीक्षण गर्न माग गरेको छ । साथै प्रतिष्ठानले कोरोना महामारीसँगै खाद्य संकट हुनसक्ने पार्टी कार्यकर्तालाई कृषि उत्पादनमा केन्द्रित हुन प्रेरित गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार