logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

संक्रमितकाे अनुराेध ‘म बाँच्न चाहान्छु मलाई स्कुल हाेइन अस्पताल लैजाऊ’


  • राजनीति
  • शुक्रबार, जेष्ठ ९ २०७७

जिल्लाको आठबीस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय युवामा कोरोना पुष्टि भयो । भारतको उत्तरप्रदेश राज्यस्थित आगराबाट जेठ १ गते गाउँ आइपुगेका ती युवामा गत सोमबार कोरोना भाइरस (कोभिड-१९) पुष्टि भयो । उनी कर्णालीका पहिलो संक्रमित हुन् ।

सात्तलास्थित लक्ष्मी मावीमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका उनमा कोरोना पुष्टि भएपछि तत्कालै उद्धार गरेर अस्पताल पुर्‍याउनुपर्ने हो । तर त्यसो हुन सकेन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा शंकास्पद् देखिएको ४२ घण्टाभन्दा बढी समयपछि मंगलबार राती ९ बजे दैलेख सदरमुकामस्थित एक स्कुलको कोठामा राखेर उपचार थालियो ।

उनलाई नारायण नगरपालिकाको तर्ताङ्ग झुप्रेसालस्थित जंगलको बीचमा रहेको सरस्वती मावीमा बनाइएको आइसोलेसनमा राखियो । अस्पताल नलगेर जंगलको बीचमा रहेको स्कुलमा लिएर राख्दा संक्रमितको मनोबल कमजोर बनेको छ ।उनले भने, ‘मलाई स्कुल होइन, अस्पताल लैजाऊ।’

आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि निराश बनेका उनलाई उपचार भने प्रदेश सरकारले तोकेको सुविधासम्पन्न अस्पतालमा हुन्छ भन्नेमा ढुक्‍क थिए । तर, त्यसो हुन सकेन् । अस्पताल नभई स्कुलमा लिएर राख्दा मनोबल कमजोर बनेको उनी बताउँछन् ।

शुक्रबार उनले कर्णाली प्रदेश सरकारले उपचारमा आफूलाई हेला गरेको दुःखेसो पोखे । ‘मलाई बाँच्ने दृढ इच्छाशक्ति छ। तर, जंगलको बीचमा रहेको स्कुलमा राख्दा मनोबल कमजोर भएको छ,’ उनले पीडा सुनाउँदै भने, ‘म बाँच्न चाहन्छु, मलाई स्कुलमा होइन अस्पताल लैजाऊ ।’

घाँटीमा समस्या भइरहेको उनले बताए । ‘मलाई राखिएको यो स्कुलको वरपर मान्छे गाड्ने चिहानघारी रहेछ,’ उनले भने ‘पहुँचविहीन समुदायको व्यक्ति भएकै कारण कर्णाली प्रदेश सरकारले तोकेको अस्पतालमा लैजान आलटाल गरेको छ।’

आफू रहेको स्कुलको कोठामा बेडसहित पानी तताउने भाँडो, झुल राखिएको उनले बताए । यता स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड-१९ फोकल पर्सन थीरबहादुर रेग्मीले संक्रमित युवाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

उनका अनुसार संक्रमित व्यक्तिको उपचारका लागि डा. विश्वबन्धु खड्काको नेतृत्वमा २ जना नर्स, एक जना सहयोगी खटिएका छन् । एउटा एम्बुलेन्स र चालक समेत तैनाथ गरिएको उनले बताए । नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । संक्रमित युवा रहेको कोठामा अक्सिजनको व्यवस्थापन गरिएको रेग्मीले बताए ।

कर्णालीका पहिलो संक्रमितलाई जिल्लाको एक स्कुलमा राखेर उपचार हुँदा कर्णाली प्रदेश सरकारले तोकेका कोरोना अस्पताल बेकामे बनेका छन् । कोरोना संक्रमितको उपचारका लागि भनेर कर्णाली प्रदेश सरकारले तीनवटा अस्पताललाई तोकेको थियो ।

गत चैत्र १३ गते बसेको कर्णाली प्रदेश मन्त्री परिषद्को बैठकले हुम्ला जुम्ला, मुगु र कालिकोट जिल्लाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जाजरकोट, डोल्पा र रुकुम पश्चिमका लागि चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिम र प्रदेशका बाँकी दैलेख सुर्खेत रसमग्र प्रदेशका लागि प्रदेश अस्पताल सुर्खेतलाई विशिष्टिकृत अस्पतालको रुपमा स्थापना गर्ने निणर्य गरेको थियो । त्यसका लागि प्रदेश सरकारले २ करोड ५० रुपैयाँ खर्चिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार