logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोखरा विश्वविद्यालयमा रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न माग


  • रासस
  • आइतबार, जेष्ठ ११ २०७७

पोखरा विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघले लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न माग गरेको छ।

संघले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय लामो समयदेखि नेतृत्वविहीन बनेको भन्दै विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक गतिविधि ठप्प भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका अध्यक्ष सञ्जीव थापाद्वारा शनिबार हस्ताक्षरित विज्ञप्तिमा देशकै दोस्रो ठूलो विश्वविद्यालय नेतृत्वविहीन बनिरहँदा झण्डै ३० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको भनिएको छ।

कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेदेखि नै विश्वविद्यालयका अध्ययन–अध्यापन, अनुसन्धान, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशनलगायत अन्य प्रशासनिक कार्य पूर्णरूपमा ठप्प हुन पुगेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।

रिक्त पदमा योग्य र सक्षम व्यक्ति नियुक्ति गर्नसमेत माग गर्दै विज्ञप्तिमा पदपूर्ति गर्न विभिन्न बहानामा थप ढिलाइ नगर्न र हजारौँ विद्यार्थीको भविष्य अन्योलमा नपार्न आग्रह गरिएको छ।

विज्ञप्तिमा विश्वव्यापी कोरोना महामारीका बेला कत्ति विचलित नभई सुरक्षाका विधि अपनाउँदै सुरक्षित रहन सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई आग्रहसमेत गरिएको छ।

पोखरा विश्वविद्यालयमा विगत आठ महिनादेखि उपकुलपति र रजिष्ट्रार पद रिक्त छन् भने २०७७ वैशाखदेखि परीक्षा नियन्त्रक, विभिन्न सङ्कायका डीन र विभिन्न केन्द्रका कार्यकारी निर्देशकको पद रिक्त भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार