logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

म्यानमारबाट नेपाल आए २६ जना नेपाली,युएईबाट आउने पहिलो बिमान स्थगित


  • राजनीति
  • शुक्रबार, जेष्ठ २३ २०७७

शुक्रवार म्यानमारबाट उद्दार गरी नेपाल आएका २६ जना नेपालीलाई नेपाली सेनाले बसुन्धरा स्थित यति पार्टी प्यालेसमा रहेको होल्डिङ सेन्टरमा लगिएको छ।

सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ । त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ । उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो ।

यद्यपि, उनीहरुको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्नेछ । कोरोना परीक्षण नगरिएकाको हकमा सम्बन्धित प्रदेशमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने सरकारी तयारी छ ।

यसै गरी शुक्रवार युएईबाट नेपाली बोकेर आउने भनेको पहिलो बिमानको उडान स्थगित भएको छ। यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तयारी रहेकोमा उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेकोले उडान रोकिएको दुतावासले जनाएको छ ।

यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तालिकासहितको प्रस्ताव पठाएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार अनुमति दिएको थियो । १ सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने तयारी थियो । सरकारले अनुमति दिनासाथ यूएईस्थित नेपाली दूतावासले बिहीबारै त्यहाँको सरकारलाई जानकारी दिएको थियो । तर, अहिले यूएईका अधिकारीहरूले उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेको दूतावासलाई बताएका छन् ।

‘शुक्रबार बिदा परेकाले यूएईका सबै सरकारी कार्यालय बन्द छन् । केही प्राविधिक कुरा प्रस्ट हुनुपर्ने भयो’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘यसबारे केही दिनमा टुंगो लाग्नेछ ।’

दूतावासले उडानको अनुमति पाएलगत्तै प्राथमिकतामा परेकालाई जानकारी दिने तयारी गरेको थियो । पहिलो उडानमा भिजिट भिसामा आएर अलपत्र परेका र गर्भवतीलाई प्राथमिकतामा राखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार