राजनीति
पोखरा -गृह मन्त्रालयले सामाजिक सञ्जाल मार्फत सर्वसाधारणलाई निश्चित ठाँउमा जम्मा हुन लगाई ज्ञापन पत्र बुझाउने ,शान्तिपुर्ण धर्ना र जुलुसको नाउमा सहमागी हुनेलाई कानुनी रुपमा कार्वाही गर्ने चेतावनी दिएको छ । विहिवार गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै लकडाउनका लागि जारी गरिएका मापदण्ड विपरीत मानिसहरुले सुनियोजितरुपमा उल्लंघन गरिरहेको भन्दै संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले दिएको हो।
विज्ञप्तीमा भनिएको छ , ‘विगत केही दिन अगाडीदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चि स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, गृह मन्त्रालयद्धारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।
‘ बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरा समेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले उक्त ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न बाध्य हुनुपर्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’