राजनीति
नेपाली युवतीलाई भारतमा लगी कोठीमा बिक्री गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अर्घाखाँची सितगंगाका २६ वर्षीय रमेश खत्रीलाई पक्राउ गरेको हो।
भातरको कोठीबाट भागेर नेपाल आएकी एक युवतीले दिएको उजुरीका आधारमा खत्रीलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।
सिआइबीका अनुसार खत्रीले उपचारका बहानामा युवतीलाई दिल्ली लैजाने र त्यहीँ एक अपार्टमेन्टमा बन्धक बनाएर आफूले पनि यौन शोषण गर्ने तथा ग्राहक खोजेर जबरजस्ती सम्बन्ध राख्न लगाउने गरेका थिए।
नग्न अवस्थाको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्क्याएर उनले युवतीलाई यौनधन्दामा लगाउने गरेको प्रहरीले दाबी गरेको छ। प्रहरीले कोठीबाट भाग्न सफल युवतीको निवेदन परेको दुई महिनापछि अभियुक्त खत्रीलाई पक्राउ गरेको हो।