logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कुवेतबाट उद्धार गरी ल्याइएकी युवतीमा कोरोना सङ्क्रमण पुष्टि


  • राजनीति
  • मंगलबार, असार २ २०७७

पाँचथर- पाँचथर, फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए।

पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टिनमा गत जेठ ३२ गतेदेखि उनी बसेकी थिइन्। उनको सोमबार स्वाब सङ्कलन गरी पठाइएकामा आज रिपोर्ट आएको सुवेदीले बताए।

कुवेतबाट उद्धार गरी ल्याइएकी उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो। उनीसँगै विभिन्न मुलुकबाट उद्धार गरेर जिल्लामा ल्याई उक्त क्वारेन्टिनमा राखिएका अन्य तीन जनामा भने कोरोना सङ्क्रमण नदेखिएको सुवेदीले बताए।

पछिल्लो पटक विदेशबाट आएका चार तथा भारतबाट आएका ५३ जना गरी ५७ जनाको स्वाब परीक्षण गरिएकामा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ।

सङ्क्रमण पुष्टि भएकी ती युवतीलाई कोशी अस्पताल विराटनगर पठाउने तयारी गरिएको सुवेदीले जानकारी दिए। पाँचथरमा जिल्लाभित्रै पहिलो पटक कोरोना भाइरस सङ्क्रमित भेटिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार