logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गोरखा तनहुँ जोड्ने पुल मर्स्याङ्दीले भत्काएपछी लमजुङ गोरखाका बासिन्दा समस्यामा


  • रासस
  • बिहिबार, असार ४ २०७७

गोरखा- गोरखाको पालुङटार नगरपालिका–५ र तनहुँको भानु नगरपालिका–३ जोड्ने मस्याङ्दी नदीको पुललाई गएराति बाढीले क्षति पुर्याएपछि आवत–जावत अवरुद्ध भएको छ । तनुहुँबाट तुरतुरे हुँदै गोरखा प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको सो बेलीब्रिज पुलको दायाँबायाँ बाढीले कटान गरेपछि आज बिहानदेखि नै पुलमा सवारी आवागमन रोकिएको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिइन् ।

बाढीले पुलको तनहुँतर्फको भागमा बढी क्षति पु¥याएको उनले बताइन् । ‘पुलमा सवारी साधन गुड्न सक्ने अवस्था छैन’ उनले भनिन्– ‘तनहुँबाट पालुङटार छिर्ने मुख्यनाकामा नै अवरुद्ध हुँदा मानिसलाई अत्यावश्यक कामका लागि समेत ओहोरदोहोर गर्न अप्ठ्यारो भएको छ ।’ बाढीले पुलको एकतर्फको भागको बाटो नै बगेको स्थानीयवासी अशोक मरहठ्ठाले बताए ।

उनले पुल मर्मत नगर्दासम्म अब सवारी साधन आवातजावत गर्न नसक्ने अवस्था रहेको बताए । ‘पानीको बहाव बढ्दा पुलको मुख्य बेस नै करिब चार फिट कटान भएको छ’ उनले भने– ‘बाढीले कटान गरेपछि अहिले त मान्छे हिँड्नसमेत जोखिम भएको छ ।’ उक्त बेलीब्रिज पुल करिब १५ वर्षअघि निर्माण भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार