राजनीति
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बालुवाटार छलफल सकिएको छ।
अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफलमा सुरुदेखि नै नेकपा महासचिव विष्णु पौडेलसमेत सहभागी थिए। केही समयसम्म छलफल चलेपछि अर्का नेता जनार्दन शर्मालाई बैठकमा बोलाइएको थियो।
महासचिव पौडेल र नेता शर्मा २०७५ जेठ २ गतेको पाँच बुँदे सहमतिका साक्षी हुन्। त्यो पाँच बुँदे सहमतिमा पार्टी सहमति र समसझदारीका आधारमा अघि बढ्ने, एकताका संगठनात्मक सिद्धान्त समानता, सम्मानजनक र न्यायोजित हुने, दुवै अध्यक्षको सहमति र हस्ताक्षर पश्चात निर्णयको आधिकारिकता मानिने, समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्नेलगायत सहमति भएको थियो। शुक्रबारको बालुवाटार बैठकमा समेत त्यो सहमतिको बुँदा नम्बर चारको विषयमा गम्भीर छलफल भएको स्रोतको भनाइ छ।
बालुवाटार छलफल अगाडि शुक्रबार कृषिमन्त्री एवम् नेकपा नेता घनश्याम भुसालको निवासमा नेताहरुले छलफल गरेका थिए। उक्त छलफललेसमेत २०७५ जेठ २ र मंसिर ४ को सहमतिका आधारमा अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।
पार्टी विभाजनको बाटोलाई छोडेर नयाँ आधारको एकता खोज्ने छलफलको निष्कर्ष थियो। उक्त छलफलमा नेता विष्णु रिमाल, शंकर पोखेल, जनार्दन, योगेश भट्टराई, मणि थापालगायत सहभागी थिए।
पार्टीभित्र विवाद चर्को रुपले बढ्दै गएपछि नेकपा विधि पद्धतिमा चल्नुपर्ने माग गर्दै नेताहरु पार्टी मुख्यालयमा धर्नासमेत बसेका छन्। विधान र पद्धतिमा पार्टी चल्नुपर्छ भनेर धुम्बाराहीमा नेता जगन्नाथ खतिवडा, डा. विजय पौडेल, हिमाल शर्मा, रामकुमारी झाक्रीसहितको टोली धर्नामा बसेको हो।
पार्टीभित्र मिल्नुको विकल्प नभएको भन्दै चौतर्फी दबाब भएपछि दुई अध्यक्षले महासचिव पौडेल र नेता शर्मालाई साक्षी राखेर बालुवाटारमा दुई घण्टा छलफल भएको थियाे ।
शुक्रबार दिनभरको छलफलबाट एउटा सहमतिको आधार खडा गरेर शनिबार बिहान ११ बजे बस्ने स्थायी कमिटीमा सोही आधारमा उपस्थित हुने तयारी नेताहरुले गरेका छन्। त्यसका लागि नेकपा शीर्ष नेतृत्वमाथि चौतर्फी दबाब परेको छ।