राजनीति
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको साथ मागेको खुलेको छ ।
ओलीले असार १७ गतेले आफैले र आइतबार आफ्नो निकटस्थ नेतामार्फत देउवासँग भेट गरेर काँग्रेसको साथ मागेका हुन् । पार्टीभित्र ओलीको राजीनामाको माग बढिरहेका बेला ओलीले काँग्रेससँग छलफल अघि बढाएको खुलेको हो ।
आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे समाचारहरुमा आएको विषयबारे प्रश्न गरेपछि देउवाले ओलीसँग भएको भेटवारे ब्रिफिङ गरेका हुन् ।
आइतबार पार्टी कार्यालय सानेमामा दिउँसो ३ बजेदेखि सुरु भएको बैठकमा सुरुमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन कार्यतालिकाकाको बारेमा प्रस्ताव राखेका थिए ।
त्यसपछि नेकपाभित्रको आन्तरिक विवाद र काँग्रेससँग भएको छलफलबारे देउवाले पौडेलको जिज्ञासाअनुसार ब्रिफिङ थालेका थिए ।
सो क्रममा देउवाले सत्ता राजनीतिबारे आफूलाई भन्दा बढी जानकारी नेता मिनेन्द्र रिजाललाई थाहा भएको भन्दै कुरा सुरु गरेका थिए ।
उनले बैठकमा भने, ‘मलाई भन्दा पनि बढी जानकारी मिनेन्द्रसँग छ । यसको वातावरण सबै मिनेन्द्रले मिलाउनु भएको हो ।’
उनले ओलीसँग संसद अधिवेशन अन्त्यअघि टेलिफोटमा कुराकानी भएको तथा बालुवाटारमा पनि भेटवार्ता भएको बैठकलाई जानकारी गराएका छन् ।
सो बैठकमा ओलीले पार्टीभित्र समस्या रहेको भन्दै यो अवस्थामा आफूलाई सघाउन देउवासँग आग्रह गरेका थिए । ‘कुराकानीका क्रममा प्रधानमन्त्रीले आफ्नो पार्टीको समस्या पनि राख्नुभयो । तपाईँले साथ दिनुपर्छ पनि भन्नुभएको हो । मैले पार्टीमा छलफल गर्छु भनेको हुँ । तर, गणतन्त्रलाई नै खतरामा पार्नेगरी जानुभयो भने त्यो स्वीकार्य हुँदैन भनेर मैले स्पष्ट भनेको छु’, देउवाको ब्रिफिङ उदृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले संचार माध्यमलाई बताए ।