पोखरा- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कार्यालय कास्कीले प्राकृतिक विपद्को घडीमा सबैलाई सतर्कता अपनाउन आग्रह गर्दै पार्टी पङ्क्ति र जनवर्गिय सङ्गठनलाई राहत र उद्धारमा क्रियाशिल हुन निर्देशन दिएको छ ।
पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा र सचिव बखानसिँह गुरुङले आज विज्ञप्ती जारी गरी जिल्लाका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी सात जनाको मृत्यु भएको खबरले पार्टी स्तब्ध भएको जनाउँदै मृतकहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् । नेकपाले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
“मुलुक यतिबेला कोभिड–१९ को त्रासदीबाट गुर्जिरहेको छ,यतिनै बेला प्राकृतिक विपद्ले हामीलाई थप मर्माहत बनाएको छ । हाम्रो पार्टी हरेक संकट र विपद्मा जनताको साथमा छ ।” विज्ञप्तीमा भनिएको छ ।
नेकपाले नदी, किनार, भिरालो तथा जोखियुक्त क्षेत्रमा थप सतर्कता आवश्यक रहेकामा जोड दिँदै विपद्को घडीमा क्षतिको न्यूनीकरण, उद्धार एवं राहत तथा पुुर्नलाभकाजन्य कार्यका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारले तदारुकताका साथ पहल अघि बढाउन समेत माग गरेको छ ।