राजनीति
लकडाउन खुलेयता ४ दिनमै थपिए ४ सय ८९ सं लकडाउन खुले पनि नेपालमा काेराेना संक्रमितकाे संख्या थपिन भने कम भएकाे छैन।
सरकारले चैत ११ गते देशभर लागू गरेकाे लकडाउन गत मंगलबार मध्यरातबाट हटायो। त्यस दिनयता देशभर ४ सय ८९ जना काेराेनाका नयाँ संक्रमित भेटिइसकेका छन् भने पाँच जना संक्रमितको त मृ’त्युसमेत भइसकेकाे छ। जसमा तीन महिलासहित दुई पुरुष छन्।
लकडाउन खुलेको पहिलो दिन नै १ सय संक्रमित थपिएका थिए। दोस्रो दिन १ सय ४७, तेस्रो दिन १ सय ३३ र आज शनिबार पनि १ सय ९ जना काेराेनाका नयाँ संक्रमित भेटिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ७ गतेको नियमित प्रेस ब्रिफिङमा धनुषाका ६० वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना मृत्यु भएको जानकारी दिएका थिए। सोही दिन पोखरामा १ वर्षदेखि व्यापार गर्दै आइरहेकी ४९ वर्षीय चिनियाँ महिलाको मृत्यु भएको थियो।
साउन ८ गते वीरगन्ज महानगरपालिका-६ का ७० वर्षीय पुरुष, ९ गते वडा-११ का ८५ वर्षीय र १० गते १९ वर्षीय युवतीको काेराेनाकै कारण मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेकाे छ।
शनिबार देशभरिका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ कोरोना संक्रमित उपचाररत छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश १ मा १ सय ४५, प्रदेश २ मा १ हजार ९ सय ९ र बागमती प्रदेशमा ४ सय ३४ जना संक्रमित उपचाररत रहेका छन्।
यस्तै गण्डकी प्रदेशमा ३ सय १३, प्रदेश नम्बर ५ मा ३ सय ४६, कर्णाली प्रदेशमा ३ सय ३८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय जना संक्रमित उपचाररत छन्। शनिबार १ सय ६ जना डिस्चार्ज भएका छन् । आजसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ रहेको छ।