logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

१५२ नेताको हस्ताक्षरले नेकपामा हंगामा, राखे यस्तो माग…


  • राजनीति
  • बिहिबार, साउन १५ २०७७

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका १ सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर बुझाएका छन्।

स्थायी कमिटीले पार्टी भित्र देखा परेको समस्याको समाधान दिन नसकेको भन्दै सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका हुन्। उनीहरुले बुधबार पार्टी कार्यालय पुगेर हस्ताक्षर सहितको पत्र बुझाएका छन्। केन्द्रीय समिति बैठकको माग गर्दै सदस्यहरुले पार्टी कार्यालय धुमबाराहीमा पुगेर हस्ताक्षरसहितको पत्र बुझाएको केन्द्रीय समिति सदस्य डा. विजय कुमार पौडेलले बताए।

केही समय पहिलेदेखि नै संकलन गरिएका हस्ताक्षर बुधबार अपराह्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई बुझाइएको हो। सचिवालय र स्थायी कमिटीले पार्टीमा देखिएको विवाद समाधान गर्न नसकेकाले आफूहरूले केन्द्रीय कमिटी बैठक माग गरेको हस्ताक्षरकर्ताहरुले बताएका छन्।

पार्टी अध्यक्षद्वयलाई सम्बोधन गर्दै लेखिएको पत्रमा पार्टी भित्रको विवादले आफुहरुलाई चिन्तित बनाएको र विवाद र समस्याहरूको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि–पद्धति बमोजिम समाधान गर्नुपर्ने ठहर गरेको उल्लेख छ।

उनीहरुले पार्टीको विधानको धारा ५९ (क) ४ बमोजिम केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका हुन्। पार्टीको सबैभन्दा सर्वोच्च निकाय केन्द्रीय कमिटी भएकाले यही नै हरेक विवादहरु हल गर्नुपर्ने भन्दै बैठकको माग गरिएको केन्द्रीय सदस्य जगन्‍नाथ खतिवडाले बताए।

अहिले पार्टीमा उत्कर्षमा पुगेको विवादको समाधान गर्न पार्टीको केन्द्रीय कमिटी बैठक बस्नुपर्ने उनीहरुको भनाई छ। नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरि केन्द्रीय कमिटी बैठक माग गरे एक महिनाभित्र बैठक बोलाउनु पर्छ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा बैठक बोलाउन १ सय १० जना सदस्यको हस्ताक्षर आवश्यक पर्छ। विधानको धारा ५९ (१) अनुसार केन्द्रीय कमिटीको बैठक ६–६ महिनामा बस्नुपर्नेछ। तर नेकपाभित्रको विवादका कारण बैठक बस्न सकेको छैन। यसअघि नेकपाको केन्द्रीय कमिटीको बैठक गत माघ १५ गतेदेखि १९ गतेसम्म बसेको थियो।

जारी स्थायी कमिटी बैठक पनि माग गरेरै बोलाइएको हो। अध्यादेश प्रकरणपछि वैशाख १० गते स्थायी कमिटीका २० जना सदस्यले बैठक माग गर्दै हस्ताक्षर बुझाएका थिए।

के भन्छन् केन्द्रीय सदस्य

केन्द्रीय कमिटी सदस्य ठाकुर गैरेले पार्टी भित्र बढ्दै गएको विषयले आफुहरुलाई चिन्तित बनाएको बताए। उनले पार्टी विभाजन आजको आवस्यकता, औचित्य र सान्दर्भिकता नभएकाले पार्टी भित्र उत्पन्न भएका समस्यालाई पार्टी भित्रै बसेर समस्या समाधान गर्न बैठकको माग गरिएको बताए।

नेकपाको केन्द्रीय कमिटी ४ सय ४४ जनाको रहेको छ। केन्द्रीय कमिटीको एक चौथाई सदस्यले बैठक माग गरेपछि ३० दिन भित्र बैठक बोलाउनु पर्ने व्यवस्था पार्टीको विधानमा रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार