राजनीति
नेपाल सरकार शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई कोरोना संक्रमण भएको आशंका गरिएपछि संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । आइतबारको लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
सभापति खड्काले भनिन्, ‘आइतबार शहरी विकास मन्त्रालयलाई बोलाएर छलफल गर्ने कार्यक्रम तय भएको थियो, तर सचिवज्युलाई कोरोना संक्रमणको आशंका भएकोले बैठक स्थगित भएको छ ।’ खड्काले सचिव अधिकारी केही दिन आइसोलेसनमा बस्नुपर्ने हुनसक्ने भएकोले बैठक स्थगित भएको बताइन् ।
उता, शहरी विकास मन्त्रालयका एक कर्मचारीले सचिव अधिकारीलाई कोरोना संक्रमण भएको भन्ने सुन्नमा आएको बताए । उनले सचिव अधिकारीको स्वाव संकलन भैरहेको समेत बताए ।
उच्च अदालत जनकपुरधामका न्यायाधीशमा कोरोना पुष्टि
अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पचास वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामा एक जनाको पोजेटिभ देखिएको हो । न्यायाधीशमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।
उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएशनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।