logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाडौमा समुदायमै कोरोना फैलिएका स्थानहरु


  • राजनीति
  • मंगलबार, भाद्र ९ २०७७

मुलुकको राजधानी काठमाडौंको पूर्वी कागेश्‍वरी-मनोहरा नगरपालिकाको समुदायमै कोरोना फैलिएको छ। केही दिनयता यो नगरपालिकाको वडा नम्बर ७ र ९ को समुदायस्तरमै कोरोना पुगेको हो।

कागेश्‍वरी-मनोहरा नगरपालिका-९ वीरेन्द्र चोक आसपासमा मात्रै अहिलेसम्म ४२ जना संक्रमित भेटिएका छन्। जसमा एकजनाको ज्यान नै गइसकेको छ। त्यसैगरी वडा नम्बर ७ अम्बरसिंह चोक क्षेत्रमा २० जना कोरोना संक्रमित भेटिएका छन्। यो नगरपालिकाको सबै क्षेत्रमा वैशाखयता संक्रमितको संख्या करिब ८० रहेको छ।

प्रवक्ता राजाराम पुडासैनीका अनुसार नगरपालिकाका विभिन्‍न टोलमा कोरोना फैलिँदा ‘ट्राभल हिस्ट्री’ नभएकालाई पनि संक्रमण भएको छ। ‘कागेश्‍वरी-९ को एउटै घरका ५ देखि ७ जनालाई पनि कोरोना देखिएको  छ’, नगरपालिकाकी कोभिड फोकल पर्सन लक्ष्मी कोइरालाले थाहाखबरसँग भनिन्, ‘समुदायमा संक्रमण पुगेपछि ठाउँ ठाउँमा सिल गरिएको छ। गोठाटारदेखि काँडाघारी क्षेत्रको सबै सडकमा गाडी चलाउन पूरै निषेध गरेका छौं।’

कसरी फैलियो?

नगरपालिकाले त्यस क्षेत्रमा कोरोना रोक्न दुईवटा टिम नै बनाएको छ। त्यो टिमले घर घरमा पुगेर कोरोना संक्रमितको निगरानी बढाएको छ। यस्तोमा नगरपालिकाको मूलपानीमा शंकास्पदहरुको स्वाब संकलन गर्ने व्यवस्था पनि गरिएको प्रवक्ता पुडासैनीले बताए।

नगरपालिकाकी कोभिड फोकल पर्सन लक्ष्मी कोइरालाका अनुसार सुरुमा तराईका जिल्लाबाट आएका कपाल काट्ने र फर्निचरमा काम गर्नेहरुबाट कोरोना फैलिएको पाइएको छ।

‘सुरुमा कपाल काट्नेहरू र फर्निचरमा काम गर्नेहरूमा कोरोना देखिएको थियो। उनीहरु लुकिछिपी काठमाडौं छिरेर कोरोना परीक्षण नगराउँदा समस्या डर लाग्दो बन्यो’, कोइरालाले भनिन्, ‘अहिले त बैंकमा पनि सरेको छ। फाइनान्सका कर्मचारीमा पनि संक्रमण देखिएको छ। त्यहीँबाट कोरोना ‘कम्युनिटी ट्रान्सफर’ भइसकेको छ। हामीले वीरेन्द्र चोकदेखि काँडाघारीसम्म पूरै सिल गरेका छौं।’ 

उता नगरपालिकाको वडा नम्बर ७ की एक महिलाले भदौ ४ मा तीजको दर खुवाउन आफ्नो घरमा भोज आयोजना गरेकी थिइन्। पिसिआर परीक्षणका लागि स्वाब दिएर पनि घरमा भोजभतेर र नाचगान आयोजना गरेकी उनमा भोलिपल्टै कोरोना पुष्टि भएको छ।

‘स्वाब दिएपछि स्वास्थ्यकर्मीले कहीँ नजानु भनेर सचेत पनि गराएका थिए। तर सयपत्री टोलकी उनले उल्टै छिमेकीलाई घरमा बोलाएर भोज आयोजना गरिछन्’, कोइरालाले भनिन्, ‘भोजकै भोलिपल्टमा उनमा कोरोना पुष्टि भयो। अब टोलभरीका लागि निगरानीमा राख्‍नु परेको छ। उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका कम्तीमा २२ जनालाई होम क्‍वारेन्टाइनमा राखेका छौं।’

नियन्त्रण प्रयास 

नगरपालिकाले अहिले आशंकित कोरोना संक्रमितहरुलाई धमाधम होम क्‍वारेन्टाइनमा राखिरहेको छ। संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा पुगेकाहरूलाई कम्तीमा एक साता क्‍वारेन्टाइनमा राखेर मात्रै कोरोना परीक्षणको नीति बनाइएको नगरपालिकाले जनाएको छ।

‘संक्रमितसँग घुलमिल भएकाहरुमा तत्कालै कोरोनाका संकेत नदेखिन सक्छन्। त्यसैले कम्तीमा एक साता क्‍वारेन्टाइनमा राखेपछि मात्रै परीक्षण गराउँदैछौँ’, कोइरालाले भनिन्, ‘यहाँ त नागरिकस्तरमै भएको लापरवाहीले जोखिम बढायो। नगरपालिकाको रणनीति अुनसार खोज पड्ताल, अनुसन्धान गर्ने टिमले काम गरिरहेको छ।’ 

नगरपालिकाले संक्रमित बढ्दै गएको अवस्थालाई ध्यान दिँदै धमाधम आइसोलेसन बेड थप्दैछ। ‘अब आइसोलेसन बेड नथपी नहुने भएको छ। लक्षण नभएको कोरोना पोजेटिभलाई होम आइसोलेसनमा राखिरहेका छौं’, नगरपालिकाका प्रवक्ता पुडासैनीले भने, ‘लक्षण देखिएकालाई यहीँको आइसोलेसनमा राखिरहेका छौं। अक्सिजन पुगेन र ज्वरो आउने देखियो भने चाहिँ केन्द्र सरकारसँग समन्वय गरेर कोभिड अस्पतालमै पठाइरहेका छौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार