logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

लमजुङमा सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि


  • रासस
  • शुक्रबार, भाद्र १२ २०७७

लमजुङ- जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मस्र्याङ्दी गाउँपालिका–४ का ३१ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । सङ्क्रमित महिला भने करिब पाँच दिनअघि भारतबाट आउनुभएको थियो । उहाँ पालिकाको क्वारेन्टिनमा बस्नुभएको थियो ।

सङ्क्रमित सञ्चारकर्मीलाई बेँसीशहर नगरपालिका–७ मा रहेको शहरी विकास भवनमा निर्माण गरिएको आइसोलेशन र महिलालाई भने बेँसीशहरमै रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्लामा हालसम्म ११ महिलासहित १४५ जना कोरोना सङ्क्रमित भएकामध्ये नौ जना महिलासहित १११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । हाल दुई महिला र ३२ जना पुरुष गरी ३४ जना जिल्लाको विभिन्न आइसोलेशनमा उपचारत रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार