logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जनतासँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै विप्लवले एक्साभेटरमा लगाए आगो


  • राजनीति
  • शनिबार, जेष्ठ १९ २०७५

चितवन -चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ ।

पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको हो ।

चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले  आज बिहान करीब ४ बजेतिर शक्तिखोर बजार नजिकै सम्फर्याङमा राखिएको एक्साभेटरमा आगो लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएका हुन् ।

गाडीमा केही जल्ने वस्तु राखेर चालक बस्ने भागमा आगो लगाएको र आगलागीबाट मेसिनको भाग जलेको छ ।

घटनास्थलमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा फेला परेको समेत उहाँले जानकारी दिनुभयो । स्टार लाइम कम्पनीले यहाँको कोलारबाट चुनाखानी उत्खनन गरी सो ठाउँमा ल्याएर राख्ने र त्यहाँबाट एक्साभेटरको सहयोगमा गाडीमा लोड गरेर पठाउँथ्यो ।

घटनास्थलमा जिल्ला जनपरिषद् चितवनको नाममा पर्चा फेला परेको र सो पर्चामा कम्पनीले शक्तिखोरका जनतासँग गरेको सहमति कार्यान्वयन नभएकाले कारवाही गरिएको उल्लेख छ ।

यहाँको खानेपानी व्यवस्थापन, खोलाको तटबन्ध, सडक निर्माण, चुनाखानी माथिको बस्ती संरक्षण र उपरदाङगढीको संरक्षण नगरेको आरोप लगाएको पाँचबुँदे पर्चा भेटिएको ढकालले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार