logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा सचिवालय बैठक सुरु, ओली सहभागी यस्ता छन एजेन्डा


  • राजनीति
  • शनिबार, मंसिर २० २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे पछि बैठक सुरु भएकाे प्रधानमन्त्री का सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । बुधबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि २० मिनेटमै बैठक सम्पन्न भएको थियो।

आजको सचिवालय बैठक अगाडि प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन्। सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि छलफल गर्ने तयारी छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओली र ‘प्रचण्ड’बीच कात्तिक २५ यता संवाद ठप्प छ। कात्तिक २८, मंसिर ३, १३ र १६ गतेको सचिवालय बैठकमा अध्यक्षबीच ‘छेडछाड’ र व्यङ्ग्य वाण मात्र चल्यो। प्रचण्डले कात्तिक २८ गते दर्ता गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनले ओली र प्रचण्डको दूरी अझ बढाएको छ। उक्त प्रतिवेदनलाई ओलीले ‘आरोप-पत्र’को संज्ञा दिएका छन्।

प्रचण्डको प्रतिवेदनको जवाफमा अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको राजनीतिक प्रतिवेदन बुझाएका छन्। ओलीको प्रतिवेदनका ५३ बुँदामध्ये अधिकांश बुँदामा प्रचण्डमाथि प्रश्न गरिएको छ।

ओलीले प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन माग गर्दै उक्त प्रतिवेदन खारेज भएको घोषणा समेत गरेका छन्। प्रचण्डले भने ओलीको एकल निर्णयले पार्टी र सरकार नचल्ने भन्दै आफ्नो अडानबाट टसमस नहुने प्रष्ट पारेका छन्।

नेताहरू २० मंसिरसम्म सचिवालय बैठक रोकेर आ-आफ्ना तयारीसहित अनौपचारिक संवादमा जुटेका हुन्। मंसिर १६ गतेपछि अध्यक्ष ओली सचिवालय बैठकमा जान छाडेका छन् भने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमत-अल्पमतबाटै पार्टीलाई एउटा प्रक्रियामा लैजानुपर्ने बताइरहेका छन्।

दोस्रो तहका नेताहरू असारमा स्थायी समिति बैठकमा देखिएको विवाद मिलाउन हस्तक्षेपकारी भूमिकामा थिए। परिणामस्वरूप दुवै अध्यक्षसहित शीर्ष नेता पार्टी विवाद मिलाउन कार्यदलमार्फत एउटा ठोस प्रस्ताव बनाउने र त्यसकै आधारमा अगाडि बढ्नेसम्मको समझदारीमा पुगेका थिए। तर, यसपटक उनीहरूको प्रयास सफल हुन सकिरहेको छैन। उनीहरूका दबाब अध्यक्षद्वयले स्वीकारिरहेका छैनन्।

नेकपामा विवाद बढ्दै जाँदा शीतल निवासको समेत सक्रियता देखिन थालेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विवाद समाधानका लागि दुई अध्यक्षलाई बिहीबार शीतल निवासमै बोलाएर छलफल गरेकी थिइन्।

पार्टी विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वयको संवाद ठप्प भए पनि दुवै अध्यक्षका दूतहरुको दौडधुप व्यापक देखिन्छ। पार्टी विवादमा अनौपचारिक छलफललाई निरन्तरता दिने बताइएको भए पनि नेताहरुबीच गुटगत छलफल मात्र भइराखेको देखिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार